अत्तरिया - सुदूरपश्चिममा मनाइने मुख्य पर्व गौरापर्वको दोस्रो दिन आज आज ‘नानी गौरा’ मनाइँदै छ । आज ब्रतालु महिलाहरुले ‘बिरुडा’लाई धुने गर्दछन् । हिजो भिजाएका बिरुडालाई नजिकका नदी, तलाउ, धारमा लगेर धुने चलन रही आएको छ ।
ब्रतालु महिलाहरुले बिहानै नुवाइ–धुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरेका छन् । धान, साउँ, तील, अफामार्ग लगायतका बोटहरुबाट गौराको प्रतिमूर्ती बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहेको छ । नजिकको धारा,कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तीलाई विभिन्न फाग सहित बिरुडाले पूजा गर्ने चलन रही आएको छ । आज नदी,तलाउ तथा धारमा मनाइने गौरालाई स्थानीयभाषामा “नानी गौरा” भन्ने चलन रही आएको छ ।
आज नदी,तलाउ, धारामा मनाएको भोली अमुक्ताभरण सप्तमीका दिन भित्र्याउने चलन छ । गौराको मुख्य दिन पर्सी दुर्वाष्टमी अर्थात अठ्यावाली हो । त्यो दिन ब्रतालु महिलाहरुले गौरालाई गौराखलामा लगेर बिरुडाले पूजा गर्ने गर्दछन् ।
बिरुडाले अठ्यावालीका दिन ब्रतालु महिलाहरुले आफ्ना श्रीमान, छोराछोरी र आफन्तहरुको टाउको पूजा गर्ने चलन रही आएको छ । गहँु ,केराउ ,गहत ,मास र गुरुस यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।
पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ । गौराको अबससमा बिभिन्न ठाउँमा मेला तथा देउडा खेलहरु लाग्ने गरेको भएपनि यस बर्ष भने कोरोना महमारीका कारण सबै बन्द रहेका छन् भने गौराको रौनक नै हराएको छ ।