काठमाण्डौ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सामना संयम, एकता र दृढता साथ गर्न सबैमा अपिल गरेका छन्।
आइतबार एक अपिल सार्वजनिक गर्दै पूर्वप्रधानमनत्री समेत रहेका देउउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थिति सामना संयम र एकता साथ गर्न अपिल गरेका हुन्। उनले महामारी रोक्न लगाइएको लकडाउनका कारण जनजीवन थप कष्टकर बनेको बताएका छन्।
‘देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ’, सभापति देउवाद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु।’
सभापति देउवाले प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको भन्दै उच्च प्रशंसासमेत गरेका छन्। उनले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन्
।उनले कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने खालका घटान भएको सुन्दा आफूलाई दुःख लागेको बताउँदै स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका अपनाउन तीनै तहका सरकारसँग आग्रह समेत गरे।
‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ। स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु’, उनले भनेका छन्, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ। आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो। यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु।’सभापति देउवाले लकडाउनको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारसँग माग गरेका छन्।