अत्तरिया - सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमितहरुको संख्या निरन्तर उकालो लागिरहेको छ । अहिले सुदूरपश्चिममा ३ वटा प्रयोगशालामा कोरोना परिक्षण हुदै आएको छ ।
प्रदेशमा आज थप १०० जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल , डडेल्धुरा अस्पताल र प्रदेश बाहिरका अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि हो ।
उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन् । उता अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएको छ ।
जसमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन्। अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १० र मेल्लेख गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको उनले बताए । \
डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलायका अनुसार अन्य विभिन्न प्रयोगशालमा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको बताए। यो संगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय १५ पुगेको छ ।