अत्तरिया - कोरोना संक्रमितहरुको संख्या बढ्दै जादा थप जोखिम बढेको भन्दै कैलालीमा गएरातिवाट निषेधाज्ञा लागू गरिएको छ । संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार गएराति १२ बजेदेखी १४ गते सम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
जिल्लाभरि निषेधाज्ञा लागू गरेपछि सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरिया बजार पनि बिहानैवाट सुनसान बनेको छ । अन्य दिन बिहानैवाट चहल पहल सुरु हुने अत्तरिया बजारमा निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् । बजार क्षेत्रमा प्रहरीले कडाई समेत गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले बिहानैवाट बजार क्षेत्र र आसपासका ठाउँहरुमा कडाई गरिएको बताए । उनले जिल्लाभरि नै निषेधाज्ञा लागू भैसकेकाले अतिआवश्यक काम बाहेक अन्य बेला बजार क्षेत्रमा ननिस्कन सबैलाई आग्रह समेत गरेका छन् ।
हिजो निकै भिड रहेको अत्तरिया बजारमा सम्पूर्ण पसलहरु आज पूर्ण रुपमा बन्द रहेका छन् । सडकका ठाउँ ठाउँमा ट्राफिक र नेपाल प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको देखिन्छ । १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने भएको छ ।
औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ । अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला भित्र प्रवेश गर्न निषेध गरिएको छ ।
जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाईने भएको छ भने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, बिरामी सवार सवारी सञ्चालन भने सञ्चालन गर्न पाईने छ ।
कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन् भने भिडभाड र जुलुस गर्न पनि पाईने छैन् । आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ । शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन् ।
ठेला व्यवसाय सञ्चालन गर्न पनि रोक लगाईएको छ भने होटल रेष्टुरा सञ्चालन गर्न नपाउने भएको छ । सो आदेशको उल्लघन गर्ने आदेशको पालन गर्ने गराउने कार्यमा अबरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।
साथै अत्यआवश्यक अपभोग्य बस्तु तथा सेवाको आपूर्तीमा कृत्रिम अभाव सिर्जना गर्ने , मूल्य बृद्धि गर्ने , जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तीमा अबरोध गर्ने उपर कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।