अत्तरिया - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका ९तिज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा,उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यस बर्ष कोरोना महामारीका कारण खासै तिजको रौनक देखिएको छैन ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । यस्तै पर्वका अवसरमा मन्दिरहरु बन्द गरिएका छन् ।
कैलालीमा पनि गए राति देखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।
साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।
जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् हरुले बताएका छन। शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका ९तिज० को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताए ।
एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ । बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष पर्वका अवसरमा मन्दिर नखुल्ने भएको छ ।
पशुपतिनाथ लगायत मुख्य मन्दिर चैतदेखि नै बन्द छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।