धनगढी -सुदुरपश्चिमका ३ प्रयोगशालामा चेकजाँच बढे संगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । बिहीबार मात्रै सुदुरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा एक सय २९ जनामा कोरोना संक्रमण देखिएको हो।
यँहाका तीन वटै अस्पतालमा बितेको २४ घण्टामा एक हजार दुई सय एघार जनाको कोरोना परिक्षण गरिएको थियो । आज सेती प्रयोगशालामा ६सय ९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ महिला ४६ पुरुष गरी ६४ जनामा कोरोना पुष्टी भएको छ । जसमा कैलालीका ५० जना रहेका छन भने कन्चनपुरका २ महिला १२ पुरुष गरी १४ जना रहेका छन । उता डडेल्धुराको कोरोना अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४७ जनामा कोरोना देखिएको हो ।
बितेको २४ घण्टामा त्यँहा ३ सय ७० जनाको स्वाब परिक्षण गर्दा ४७ जनाको पोजेटिभ र ३ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज इस्वरी प्रसाद भुसालले बताए । उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा अछामको मेल्ल्क गाउँपालिकाका १५ जना,साँफेबगर नगरपालिकाका १५ जना रहेका छन ।
त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जना रहेका छन । यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। एक सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। संक्रमण पुष्टि भएका १८ जना नै डोटीका हुन्।
दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एक/एक जना,केआईसिंह गाउँपालिकाका एक महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । त्यँहा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।