बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले आजदेखि लकडाउन गरेकोे छ । कोरोना भाईरसको जोखिम बढेको भन्दै आजदेखि भदौ १५ गते सम्मका लागि लकडाउन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने उहाँले बताउनुभयो ।
नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै नगर क्षेत्रभित्र सञ्चालन गर्न दिइनेछ । यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला राखिनेछ ।
यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरुल बिहान ७ देखि १० बजे सम्म र साँझ ४ बजेदेखि ६ बजे सम्म मात्रै खुल्ला रहने चन्दले जानकारी दिनुभयो । यस्तै धार्मिक स्थलहरुलमा नित्य पूजा बाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन् भने चाडपर्वहरु आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ ।
नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमीनारहरुमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिका र ११ ओटै वडा कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुनेछन् ।
नगरपालिकाले गरेको निर्णयको कसैले उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ । गौराका समयमा भीडभाड हुन सक्ने भएकाले नगर क्षेत्रभित्र लकडाउन गरिएको हो ।