अत्तरिया - कैलालीमा आजवाट पुन लकडाउन गर्ने निर्णय गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्र बीच बुधवार बसेको बैठकले आज राति १२ बजेवाट लागु हुने गरि १४ गते सम्मका लागि पुन लकडाउन गर्ने निर्णय गरेको हो ।
यो अबधिमा १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने भएको छ । औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ ।
अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला भित्र प्रवेश गर्न निषेध गरिएको छ ।
जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाईने भएको छ । यसैगरि औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, बिरामी सवार सवारी सञ्चालन भने सञ्चालन गर्न पाईने छ । कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन् भने भिडभाड र जुलुस गर्न पनि पाईने छैन् ।
आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ । शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन् ।
ठेला व्यवसाय सञ्चालन गर्न पनि रोक लगाईएको छ भने होटल रेष्टुरा सञ्चालन गर्न नपाउने भएको छ । बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ । खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टाका लागि मात्रै स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरि गराई सञ्चालन गर्न पाईनेछ ।
सो आदेशको उल्लघन गर्ने आदेशको पालन गर्ने गराउने कार्यमा अबरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । साथै अत्यआवश्यक अपभोग्य बस्तु तथा सेवाको आपूर्तीमा कृत्रिम अभाव सिर्जना गर्ने , मूल्य बृद्धि गर्ने , जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तीमा अबरोध गर्ने उपर कानुन बमोजिम कारबाही हुनेछ ।
कोरोनाको बढ्दो संक्रमणका कारण समग्र क्षेत्रमा उत्पन्न असहज परिस्थितीका बाबजुद सो आदेशको पूर्ण पालना गरी गराई कोरोना भाईरस संक्रमणको जाखिम नियन्त्रण गर्ने यस अभियानमा सदाझै निरन्तर साथ सहयोग र सहभागिताका लागि जिल्ला प्रशासन कैलालीले सबै जिल्लाबासीमा अनुरोध गरेको छ ।