अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया देखी त्रिनगर भन्सार स्थित मोहनापुल सम्मको सडकमा दुर्घटनाको जोखिम बढेको छ । २ लेन वाट ६ लेनमा निर्माणाधिन अबस्थामा रहेको उक्त सडक निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा दुर्घटनाको जोखिम निकै बढेको हो ।
निर्माणाधिन अत्तरिया – मोहनापुल ६ लेन सडकमा एक बर्षको अबधिमा १० वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा ४ जनाले अकालमै ज्यान गुमाएका छन् भने १० जना घाईते भएका छन् । गएको बिहिवार मात्रै गोदावरी नगरपालिका वडा नं ५ गेटामा मोटरसाइकल दुर्घटना हुदाँ अत्तरियाका एक जना ब्यापारीले ज्यान गुमाए । गेटा मेडिकल कलेज जाने बाटो नजिकै से ६ प ३३८९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ डडेल्घुराको अमरगढी नगरपालिका घर भई अत्तरिया बिजुली पसल संचालन गरिरहेका खेम साकीको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।
उक्त सडकमा गत आर्थिक बर्षमा ७ वटा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ३ वटा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएको ट्राफिक प्रहरीको तथ्याङमा उल्लेख गरिएको छ ।
यो अबधिमा सबै भन्दा बढी मोटरसाईकल नै दुर्घटनामा परेका छन् । सवारी साधनको गति तिब्र हुनु र सडक पूर्ण रुपमा बन्न नसक्नुले दुर्घटनाको जोखिम केही बढेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए । 'एउटा कुरा त के छ भने पहिले भन्द अहिले सडक कालोपत्र त भयो तर पूर्ण रुपमा सडक बनिसकेको छैन' उनले भने - 'सडक पहिले भन्दा खुल्ला भएपछि सवारी चालकहरुले गाडीलाई केही तिब्र दौडाउन खोज्छन्, जता खाली पायो उतै गाडी दौडाउछन् , यसले दुर्घटना हुने सम्भावना बढेको देखिन्छ ।'
उनले सडक पूर्ण रुपमा नबन्दा आउने र जानेहरुका लागि छुट्टै लेन नभएको र ट्राफिक संकेतहरु पनि राख्न नसकिएकाले समस्या भएको बताए । सडक निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएपछि आउने र जानेहरुका लागि छुट्टा छुट्टै लेन र ट्राफिक संकेतहरु भएपछि सवारी दुर्घटना शून्यमा झर्ने प्रहरी प्रमुख श्रेष्ठले दाबी गरे ।
दुई वर्ष भित्र काम सक्नेगरी २०७४ जेठबाट काम सुरु भएको अत्तरिया मोहनापुल ६ लेन सडकको अहिले सम्म ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तोकिएको समयमा सडक निर्माणको काम सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरिएको छ । पहिलो चरणको ठेक्का शर्मा अमरनागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छन् ।
निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सार स्थित मोहनापुल देखि सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिकाको अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । सडक निर्माणको काम चालु आर्थिक बर्ष भित्र सम्पन्न हुने ६ लेन सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले गोदावरी न्युजलाई जानकारी दिए ।