सिन्धुपाल्चोक- पहिरो खस्ने जोखिम कायम रहेकाले लिदीमा हराइरहेका स्थानीयकाे खाेजी कार्य प्रभावित भएको छ। सिमसिमे पानी परेकाे र पहिराेकाे जाेखिम कायम भएकाले उद्धारमा खटेका नेपाली सेना र प्रहरी काम स्थगित गरेर सुरक्षित स्थानमा बसेका छन् ।
सिमसिमे पानी परेको र पहिरो खस्ने सम्भावना देखिएकोले खोजीकार्य रोकेर परिस्थितिलाई नियालिरहेको उद्धारमा संलग्न स्थानीय विष्णु दोङले जानकारी दिए ।
पहिरो पन्छाउँदै हालसम्म १६ शव निकालिएको छ । बिहान निकालिएको पाँच शवको पहिचान हुन बाँकी छ । ‘पहिरो खसिरहेकोले गाउँमा बस्नसक्ने अवस्था छैन,’ दोङले भने, ‘घर छोडेर कोही जंगलको गोठमा त कोही बारीमा त्रिपाल टाँगेर बसेका छन् ।’ भूकम्पले हल्लाएकाले जताततै पहिरो जानसक्ने संभावना रहेको उनले बताए ।
पहिरोको त्रासले स्थानीय घर छोडेर स्कुल डाँडाआसपास बसेका छन् । शनिबार बिहान लिदी पुगेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद शेरबहादुर तामाङ, बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सांसद सरेश नेपालले तत्कालका लागि आवश्यक सामग्री राहतस्वरुप वितरण गरेर फर्केका छन् । नेपाली सेनाले स्थानीय र उद्धारमा खटेका सबैलाई बस्ने बासको व्यवस्थापन गरेको छ । विभिन्न सरकारी निकायले दिएकाके त्रिपाल र टेन्टमा स्थानीय बसेका छन् ।
वडाध्यक्ष प्रताप लामा राहतकाे व्यवस्था मिलाउन लिदीबाट सेनाको हेलिकोप्टरमा सदरमुकाम चौतारा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत सरकारी अधिकारीसँग छलफल गरेर राहत लाने उनले बताए । ‘प्राप्त राहत ब्यारेकमा जम्मा गर्ने र सेनाको हेलिकोप्टरबाट गाउँ लाने योजना बनाइएको छ,’ लामाले भने । स्थलमार्गबाट राहत पुर्याउन सम्भव नभएकोले साेहीअनुसार नेपाली सेनाको गोरखबहादुर गणमा कुराकानी भएकाे उनले जानकारी दिए ।