धनगढी - डडेल्धुरामा पीसीआर स्थापनाकका लागि सुदुर पश्चिम नेपाली समाज टेक्सास अमेरिकाले संकलन गरेको ११ लाख ९४ हजार रुपैया ह्युमानिटी फाउण्डेसन नेपाललाई हस्तान्तरण गरेको छ ।
कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाका जनताको कोरोना परीक्षणका लागि डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकामा संकलन गरिएको रकम सुदूर पश्चिम नेपाली समाज टेक्सासले फाउण्डेसनलाई हस्तान्तरण गरेको हो ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि शुरुदेखि नै सहकार्य गरेको सुदूर पश्चिम समाज टेक्सासले यो रकम पूर्व प्रतिबद्धता अनुरुप सुदूर पश्चिम समाजले ह्युमानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेको हो । फाउण्डेसनले डडेल्धुरामा पीसीआर मेसिन स्थापनापछि आर्थिक सहयोग संकलन अभियान भने बन्द गरिसकेको थियो ।
सुदूर पश्चिम नेपाली समाज टेक्सासको अगुवाईमा टेक्सासमा थालिएको आर्थिक संकलन अभियानमा बिभिन्न संघसंस्था, मनकारी व्यक्तिहरु, भक्त बीबी भण्डारी फाउण्डेसन लगायतले सहयोग गरेका थिए । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि भक्त बीबी हेल्पिङ ह्यान्ड्स फर ह्युमानिटी र युएनएका अध्यक्ष भक्त बहादुर भण्डारीले सुदूर पश्चिम समाज टेक्सासलाई तीन लाख ५९ हजार एक सय ३६ रुपैया प्रदान गरेको थियो ।
सुदुर पश्चिम नेपाली समाज टेक्सासका सभापति प्रेम बहादुर शाहीले समाजका सम्पूर्ण पदाधिकारी र सदस्यहरुका तर्फबाट आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुमा आभार व्यक्त गरे । डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाका जनताको कोरोना परीक्षण सहज रुपमा हुने विश्वास गरेका छौ, शाहीले भने, समयमै कोरोना परीक्षण हुदा समुदायमा संक्रमण फैलिन जोखिम समेत कम हुनेछ ।
देशबाहिर भएपनि जन्मभूमि र आफ्नो जन्मभूमिका नागरिकको सेवा र सहयोगका लागि सदैव तत्पर रहने सुदूर पश्चिम समाज टेक्सासले जनाएको छ ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा शुरु भएको आर्थिक सहयोग संकलन अभियानमा सुदूर पश्चिम समाज टेक्सास,गौरा समाज अमेरिका,सुदूर पश्चिम समाज दक्षिण कोरिया,सुदूर पश्चिम समाज कनेक्टिकट, सुदूर पश्चिम समाज विस्कोन्सिन लगायतका संघसंस्थाले सहकार्य गरेका थिए ।
'देशभित्र र देश बाहिर रहेका मनकारी व्यक्ति तथा संघसंस्थाको सहकार्य र सहयोगले हामी डडेल्धुरा अस्पताल डडेल्धुरामा पीसीआर मेसिन स्थापना गर्न सफल भएका हौ' ह्युमाटिनी फाउण्डेसनका अध्यक्ष श्याम तायलले भने - 'यो अभियानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था र व्यक्तिहरु प्रति अभारी छौ ।'