दार्चुला -सरकारले दार्चुलामा सशस्त्र प्रहरीको संख्या बढाएको छ। खलंगामा रहेको गुल्मलाई गण र छाङरुमा रहेको बोर्डर आउट पोस्ट (बीओपी) लाई गुल्म बनाउने निर्णय भएसँगै सोही अनुसार जनशक्ति थपिएको हो।खलंगामा गण स्थापना भएसँगै त्यहाँ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बमलाई पठाइएको छ। छाङरु गुल्मका जिम्मा डीएसपी धिरेन्द्र शाहलाई दिइएको छ।
यी गण र गुल्मका लागि जनशक्ति समेत समायोजन भइसकेको छ।यसअघि छाङरुमा प्रहरी निरीक्षकको कमाण्डमा टोली बसिरहेको छ। तर अब दार्चुलाकै अरु चार ठाउँमा बीओपी थप्ने तयारी सरकारले गरेको छ। दार्चुलाका सुनसेरा, कौवा, दत्तु र तिंकरमा बीओपी थपिने प्रस्ताव गरिएको छ। यसका लागि बस्ने ठाउँ हेरिरहेको र बस्ने ठाउँको टुंगो लाग्नासाथ बीओपी स्थापना गर्ने सशस्त्रको तयारी छ।
गणमा ६ सय २१ जना र गुल्ममा १ सय ६० जनाको दरबन्दी हुन्छ।सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले यसअघिको तयारी अनुसार नै गुल्म र गण स्तरोन्नती भइसकेको बताए ।छाङरुमा बस्ने गुल्मले त्यसक्षेत्रका बीओपीको कमाण्ड गर्नेछ।
यसअघि भारतीय सीमा क्षेत्रमा चारवटा बीओपी स्थापना भइसकेका छन्। भारतीय सीमानामा पर्ने लेकमको लाली, मालिकार्जुनको जोलजीवी र व्यासको दुम्लिङमा बोर्डर आउट पोस्ट स्थापना गरिएको छ।दुम्लिङ, जोलजीवी र लालीमा प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा सशस्त्रको टोली छ। छाङरुमा भने प्रहरी निरीक्षकको कमाण्डमा त्यसअघि नै टोली पठाइएको थियो।
दार्चुलाकै कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्रमा भारतले नेपाली भूमि मिचेको छ। मिचिएको आफ्नो भूमि समेटेर सरकारले नक्सा जारी गर्दै निशान छापमा नै समावेश गरिसकेको छ।त्यस क्षेत्रमा आवतजावत गर्न नेपाली सेनाले सडक निर्माण गरिरहेको छ भने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि उपस्थिति बढाइएको छ।