धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा बाढी र पहिरोबाट असार १ गते यता मात्रै ४३ जनाको मृत्यु भएको जानकारी दिनु भएको छ । उनले बाढी र पहिरो पिडितहरुको लगत संकलन गर्ने काम भइरहेको बताउँदै लगत संकलन भइसकेपछि सरकारले पिडितका लागि कार्यक्रम बनाउने बताए। संसदको आजको बैठकलाई सम्बोधन गर्दै उनले बिपतको बेला तत्काल रेस्क्यु गर्ने गरी सरकारले तयारी गरिरहेको बताए । सरकारले गरेका कामको बारेमा प्रतिपक्षले जनतालाई ढाँटिरहेको आरोप लगाए ।
मुख्यमन्त्री भट्टले भने -'कोरोना नियन्त्रणका नाममा भएको खर्चको हिसाब माग्दै लामो समय प्रदेश सभा अवरोध भयो , प्रतिपक्षले कोरोनाका नाममा ९३ करोड खर्च भयो हिसाब देउ भन्छ, तर हामीले ५० देखि ५३ करोड मात्र खर्च गरेका छौं, अनि बाँकी खर्चै नभएको रकमको हिसाब कताबाट दिने ।'
मुख्यमन्त्रीले भने–‘संघीय सरकारले २० औं करोड दियो भनेर प्रतिपक्षका साथीहरुले भन्नुभएको छ, त्यसको हिसाब माग्नुभएको छ, हामीलाई संघीय सरकारले दिएको ६ करोड हो, त्यो पनि हामीले खर्च गर्न पाउने गरी होइन, स्थानीय तहहरुलाई दिनका लागि। अनि त्यसको हिसाब कसरी दिनु ?’
प्रतिपक्षले आफूलाई जिम्मेवार बनाउनुपर्ने र भ्रम छर्ने काममा लाग्न नहुने उनको सुझाब थियो प्रदेश सरकारले २४ करोड भन्दा बढी रकम राहत बितरण, आइसोलेसन निर्माण, क्वारेन्टिन ब्यवस्थापन का लागि स्थानीय तहलाई दिएको मुख्यमन्त्रीले बताए। एक अर्को प्रसंगमा उनले कम्युनिष्टको सरकार प्रतिपक्षीहरुले खोजे जस्तो सामाजिक सन्जाल फेसबुकमा नभेटिने जिकिर गरे ।
‘कम्युनिष्टको सरकार विकास नभएको ठाउँमा विकास गरिरहेको, समस्या भएको ठाउँमा समस्या समाधान गरिरहेको र जनताको घरदैलो जनतालाई सहयोग गरिरहेको भेटिन्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘अरुको सरकार कहाँ भेटिन्छ, मलाई थाहा छैन । कम्युनिष्टको सरकारलाई फेसबुकमा खोजेर भेटिन्न ।’ कोरोना रोकथाममा ढिलाई गरेको भन्दै सामाजिक सन्जालमा प्रदेश सरकारको खोजी भएको प्रति उनको भनाई लक्षित रहेको थियो ।