अत्तरिया – ‘हामीले त जसरी तसरी गुजरा गरिहरेको छौ तर अस्पताल सम्म आउने बिरामीहरुले निकै खास्ती खेपीरहनु परेको छ ’ मालाखेती अस्पतालका फार्मेसी असिसटेन्ट बिरेन्द्र धामीले भने – ‘अस्पताल जस्तो सम्वेदनशिल ठाउमा पनि शुद्ध खानेपानीको नहुदाँ धेरै समस्या भैरहेको छ ।’ स्थानिय , प्रदेश र केन्द्रको निर्वाचनका बेला प्रमुख एजेण्डा नै बनेको मालाखेती अस्पतालको अबस्था निकै नाजुक हुदा समेत अहिले सम्म कसैको पनि ध्यान जान सकेको छैन् ।
अस्पतालमा अतिआवश्यक शुद्ध खानेपानी नहुदा अहिले स्वास्थ्यकर्मी तथा बिरामीहरु पानी पिउनका लागि नजिकै रहेको बिधालयमा जाने गरेको फार्मेसी असिसटेन्ट बिरेन्द्र धामीले बताए ।
उनले गर्मीयाम बढ्दै जादा अस्पतालमा बिरामीहरुको पनि संख्या बढ्दै गैरहेकाले झनै समस्या भैरहेको बताए । ‘अस्पताल नजिकै रहेको नवज्योति प्रा.विमा आर्टिजन धारा जोडिएको छ , हामीले त्याहीको पानी बिहानै जारमा भरेर ल्याउछौ र पिउने गर्दछौ ’ उनले भने ‘तर गर्मीमा टाढा टाढावाट आएका बिरामीहरु निकै तिर्खाएका हुन्छन् , पानी खोज्दै भौतारि रहन्छन् ।’ बिरामीले अस्पतालको पुरानो भवनमा शौचालयमासंगै जोडिएको नल्काको पानी समेत पिउने गरेको अस्पतालका कर्मचारीहरु बताउँदछन् ।
बर्षौ बितिसक्दा सम्म पनि अस्पताल परिसरमा खानेपानीको हाहाकार रहेको उनिहरुको भनाई छ । गोदावरी नगरपालिकाले मालाखेती अस्पतलालाई नगर अस्पतालका रुपमा बिकास गरी सम्पुर्ण सेवा सुबिधाहरुको ब्यबस्था गर्ने आश्वासन दिएपनि अस्पतालमा अतिआवश्यक खानेपानीको समेत ब्यबस्था गर्न नसकेको अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरु बताउदछन् ।
शुद्ध खानेपानीको अभाव हुदा अस्पतालका कर्मचारी र बिरामी दुबैले दुख भोगिरहेको मालाखेती अस्पतालका प्रमुख डा.शिवराज पनेरुले बताए । उनले अस्पतालमा सामान्य सेवा सुबिधाहरु नहुदा काम गर्न निकै कठिनाइ हुने गरेको गुनासो गरे । ‘ खै अहिले सम्म अस्पतालको काम कसरी चलिरहेको छ म आफैलाई थाहा छैन् भगवान भरोसा छ ’ उनले भने – ‘अहिले सम्म बिधालयवाट बोकेर ल्याएको पानी खानका लागि र नल्काको पानी सरसफाइका लागि प्रयोग गर्दै आइरहेका छौ । ’
गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले अस्पताल प्रशासन र स्वास्थ्य शाखा बिच समन्बयको अभावमा केहि समस्या भएको बताइन् । उनले मालाखेती अस्पतालको स्तरोउन्नतीका लागि र खानेपानीका लागि भनेर बजेट छुट्याइसकेकोले अब छिट्टै अस्पतालमा पानीको समस्या समाधान हुने बताइन् ।