काठमान्डौ -कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वटा विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । गत १७ फागुनमा १३ र १९ फागुनमा सात विभागीय संयोजक तोकेका देउवाले यिनीहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका हुन् ।
देउवाले आइतबार राति संगठन, शिक्षा, यातायात व्यवसायी समन्वय, मुस्लिम, तराई मधेस समन्वय, संघीय मामिला तथा प्रदेश समन्वय, वन वातावरण तथा विपत व्यवस्थापन, वित्तीय तथा सहकारी संस्था समन्वय, स्थानीय तह समन्वय, निर्माण व्यवसायी समन्वय विभागमा यसरी सचिवदेखि सदस्यहरु मनोनित गरेका हुन् । खेलकुद र तरुण विभागमा यस अघि नै सचिव र केही सदस्य मनोनित भएका थिए । देउवाले गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकमा २८ बाट विभागको संख्या ४८ बनाएका थिए ।
महाधिवेशनको कार्यतालिका आइसकेपछि विभाग विस्तार गर्न नहुने भन्दै संस्थापन इतर समूहले विरोध गरेका थिए । विरोधका बीच देउवाले संयोजकदेखि सदस्यसम्म आफू निकटका मात्रै सहभागी गराएर विस्तार गरेका हुन् ।
१९ वटा बिभागहरुमा संगठन, संघीय मामिला प्रदेश समन्वय, मुस्लिम, स्थानीय तह समन्वय, वित्तीय तथा सहकारी संस्था समन्वय, तराई मधेस समन्वय, यातायात व्यवसायी समन्वय, तरुण, आदिवासी जनजाति, नेपाली जनसम्पर्क समिति समन्वय, उद्योग व्यापार, सूचना संचार तथा प्रचार, श्रमिक तथा टेड युनियन विभाग,शुभेच्छुक, वन वातावरण तथा विपत व्यवस्थापन, महिला, राज्य प्रशासन, खेलकुद, निर्माण व्यवसायी समन्वय र शिक्षा रहेका छन ।