काठमाण्डौ - भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान तत्काल नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले यसलाई पुःन १५ दिन सार्न सिफारिस गरेको हो ।
साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
यद्धपी पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।
सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ । यसबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय छ ।