अत्तरिया -नेपालको संबिधानमा अपाङ्गता भएका ब्यक्तिहरुका पक्षमा थुप्रै नितिगत ब्यबस्थाहरु राखिएको भएपनि त्यो ब्यबहारिक रुपमा लागु नहुँदा समस्या हुने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा 'जनयुद्ध तथा जनआन्दोलनका घाईते अपाड् संरक्षण मञ्च' सुदुरपश्चिम प्रदेश कमिटिले मंगलबार अत्तरियामा आयोजना गरेको एक दिने अपाङ्गता अधिकार र अपाङ्गता ऐन बारे सरोकारवालसंगको अन्तरकृया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निर्वातमान केन्द्रिय सदस्य मान बहादुर साउदले अपाङ्गता भएका ब्यक्तिहरुका हक अघिकारहरु खाली कोरा कागजमा मात्रै लेखेर नहुने बताए ।
उनले नेपालको संविधान २०७२ धारा ३१ को उपधारा ३ र ४ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई उच्च तह सम्म निशुल्क शिक्षाको ब्यबस्था गर्ने लेखिएको भएपनि त्यो बर्तमान अबस्था सम्म कार्यन्वयन हुन नसकेको बताए । उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई सार्बजनिक सवारी साधनहरुमा यात्रा गर्न सबैभन्दा बढि समस्या भैरहेको दुखेसो पोखे ।

यातयत ब्यबस्थापन ऐन २०४९ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई यतायतमा छुट पाउने नितिगत ब्यवस्था गरेको भएपनि त्यसलाई ब्यबहारिक रुपमा लागु गर्ने पक्ष फितलो भएको उनको भनाई थियो । शिक्षा , स्वास्थ्य , यातायत , सार्वजनिक स्थल लगाएत सबै ठाउमा अझै पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोण पुरानै रहेकाले सर्वप्रथम पुरानो सोच र बिचार बदलिन जरुरी रहेको अपाङ् उत्थान समाज गोदावरीका अध्यक्ष नरदिप धामीले बताए ।
देशमा संघियता लागु भैसके पश्चात आफ्ना समस्याहरुको समाधान स्थानिय स्तरमै हुने आशा गरेको बताउदै उनले अहिले झनै असहज भैरहेको गुनोसो गरे । उनले गोदावरी नगरपालिकाले आफ्नो नगर भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरी चाडो भन्दा चाडो परिचय पत्र बितरणको कार्यलाई अगाडी बढाउनुपर्ने बताए । यसरी परिचय पत्र बितरण गर्दा पहुचका अधारमा नभई शारिरिक गम्भिरता हेरेर दिनुपर्नेमा उनले सुझाव दिए ।
नगरभित्र निर्माण हुने सार्बजनिक भौतिक संरचनाहरु अपाङ्ग मैत्री बन्नुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिए । गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले अपाङ्गता भएका ब्यक्तिहरुले पाउने सेवा सुबिधाको दुरुपयोग हुन नहुने बताए । उनले नगरपालिका भित्र बिभिन्न वडामा रहेका सम्पुर्ण प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुलाई एक जुट हुन आग्रह गरे । कार्यक्रममा उपप्रमुख रत्ना कडायतले अपाङ्गता भएका ब्यक्तिहरुका पक्षमा नगरपालिकाले बनाएको कार्यबिधि संसोधन गर्दा सबैका बिचार , राय र सुझावहरुलाई समेटेर लैजाने बताइन् ।
उनले अपाङ्गता भएका ब्यक्तिहरुका लागि नगरपालिकाले छुट्याउने बजेट लक्षित बर्गले पाइरहेको छ वा छैन भन्ने तर्फ सबैले निगरानी गर्नुपर्ने बताइन् । अपाङ्गता भएका ब्यक्तिहरुका गुनासा तथा समस्यहरु सुन्न अब छिट्टै नगरपालिकाले नगरपालिका कार्यालयमा सहायता केन्द्रको स्थापना गर्ने उनको भनाई थियो । उनले अपाङ्गता भएका ब्यक्तिहरुले उठाएका मागहरु जायज रहेकाले यसका लागि आफुले सक्दो पहल गर्ने बताए । जनयुद्ध तथा जनआन्दोलनका घाईते अपाड् संरक्षण मञ्च सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष गम्भिर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिब जय बहादुर धामीले गर्नुभएको थियो ।