अत्तरिया - नेपालीहरुको महान चार्ड हरितालिका तिज ,गौरा,दशै ,तिहार लगाएतका चार्डपर्वहरु नजिकिदै गइरहेका छन् । यो समयमा बजारमा किनमेल गर्नेहरुको निकै भिड लाग्ने गरेको छ । अझ भनौ भने सुनका गरगहना बनाउनका लागि सुनचादी पसलहरुमा महिलाहरुको ठूलो भिड लाग्ने गर्दछ । तर यस बर्ष भने त्यसको ठिक उल्टो देखिएको छ ।
एकातिर विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको डर र अर्को तिर नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दा बजारमा ब्यापार ब्यबसाय ठप्प रहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन पछि नेपाली बजारमा सुनचादीको भाउले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
जसले गर्दा बजारमा सुनचादी खरिद बिक्रि गर्नेहरुको संख्या ह्वातै घटेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीको अत्तरिया बजारमा अहिले सुनचादीको कोरोवार ठप्प रहेको ब्यबसायीहरुले बताएका छन् । कैलाली सुनचाँदी आभूषण व्यवसायी संघ अत्तरियाका अनुसार सुनको मूल्य निरन्तर रुपमा बढ्दै गएपछि सुनका गरगहना बनाउनेहरुको संख्यामा ठूलो गिराबट आएको छ ।
सुनको कोरोवार बढ्ने समयमै मूल्य आकाशिय पछि अहिले ब्यापार ब्यबसायी ठप्प भएको कैलाली सुनचाँदी आभूषण व्यवसायी संघ अत्तरियाका अध्यक्ष एबम् जिल्ला उपाध्यक्ष मनोज सदाशंकरले बताए ।
'यो बेला त हाम्रो सिजन हो तर के गर्ने अहिले सुनको मूल्य बढेको बढ्यै छ' उनले भने - 'एकातिर कोरोनाको डरले मान्छेहरु बजार सम्म आउन डराइरहेका छन् , अर्कोतिर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ , यसले गर्दा ब्यापार ब्यबसाय सबै ठप्प बनेको छ ।' अत्तरियाको निमिशा ज्वैलर्सका संचालक समेत रहेका उनले लकडाउन अघि स्थिर रहेको सुनको मूल्य त्यसपछिका दिनहरुमा निरन्तर बढ्दै जादाँ सुन खरिद गर्नेहरुको संख्यामा कमी आएको बताए ।
अन्तराष्ट्रिय रुपमा सुनको मूल्य बढिरहेकाले बजारमा सुनको समेत अभाव हुन थालेको उनले बताए । कोही कोही मान्छेहरु छिटफुट रुपमा गरगहना बनाउन आइहाले पनि तत्काल सुन पाउन निकै गाह्रो रहेको छ उनको भनाई छ । अबको दुई तिन महिना सम्म पनि यस्तै रहेमा धेरैले सुनचादी ब्यबसायीवाट विस्थापित हुनुपर्ने अबस्था आउन सक्ने अध्यक्ष सदाशंकरले बताए ।
रिण निकालेर ब्यवसाय संचालन गरिरहेकाहरुलाई त अब निकै गाह्रो छ उनले भने कसरी पसलको भाडा तिर्ने कसरी रिणको ब्याज तिर्ने निकै समस्या हुन थालेको छ । सुनको मूल्य बढेपछि खुसी हुनुपर्ने बेलामा कोरोवार ठप्प भएपछि ब्यबसायीहरु झन निराश बनेका छन् । अत्तरियामा रहेको न्यु शैलेश्वरी सुनँचादी गहना पसलका संचालन समिर सिजापतिले अहिले किन्ने भन्दा पनि सुन बेच्नेहरु आउन थालेको बताए ।
लकडाउनले गर्दा आर्थिक संकट परेको र मूल्यपनि बढेकाले केही केही मानिसहरु घरमा रहेको सुनलाई बेच्नेका लागि आउन थालेको उनको भनाई छ । उनले अन्य बर्षहरुमा चार्ड पर्वको बेला निकै ब्यस्त हुने गरेपनि अहिले कोरोवार ठप्प हुदाँ बिहान पसल खोल्ने र साझँ बन्द गर्ने मात्रै काम भैरहेको बताए ।
सुनको मूल्य निकै आकाशियपछि ग्राहकहरुपनि निराश बनेका छन् । अहिले नेपाली बजारमा सुन मूल्य १ लाख ४ हजार ७ सय रुपैयामा कोरोबार भैरहेको छ ।