अत्तरिया - जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका ४ स्थानीय तहरुको सेवा प्रवाहलाई समय तालिका अनुसार विभाजन गरेको छ । प्रशासनले आज एक सुचना जारी गर्दै कोरोना भाईरस कोभिड–१९ संक्रमणको जोखिमलाई मध्येनजर गरि गोदावरी नगरपालिका, धनगढी उप महानगरपालिका , कैलारी गाउपालिका र चुरे गाउपालिकालाई छुट्टाछुट्टै बारमा सेवा दिने गरि नयाँ समय तालिका सार्वजनिक गरेको हो ।
जसमा गोदावरी नगरपालिकाका नागरिकलाई आइतबार र बुधबार , धनगढी उपमहानगरपालिका नागरिकलाई मंगलबार र शुक्रबार, , यस्तै कैलारी गाउँपालिका नागरिकलाई सोमबार र बिहिबार र चुरे गाउँपालिकाका नागरिकलाई सोमबार र बुधबार सेवा दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यी स्थानीय तहका नागरिकले नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी, हातहतियार दर्ता नविकरण, पत्रपत्रिका संघसंस्था सम्बन्धी कार्य र प्रमाणीत तथा सिफरिस जस्ता सेवाहरु प्रशासनले भनेअनुसारका बारमा मात्र पाउँनेछन् । तर शान्तिसुरक्षा निवेदन तथा कानुन सम्बन्धी सेवाहरु भने सबै कार्यालय दिनमा उपलब्ध हुने प्रशासन कार्यालयले जनाएको छ।
कोरोना भाईरसको संक्रमण हुन नदिन स्वास्थ्य सुरक्षा सर्तकता तथा सामाजिक दुरी कायम गर्दै सेवा प्रवाह गर्नुपर्ने भएकाले कार्यालयमा भिडभाड हुन नदिन शुक्रवारदेखी अर्को ब्यबस्था नभए सम्मका लागि उक्त निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीद्धारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।