अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाका बिभिन्न ठाउँहरुमा निर्माण हुने भनिएको आधुनिक सडकको निर्माणको काम सुरु भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजनाले निर्माण गर्न लागेको १६ किलोमिटर सडकको अहिले सर्भेको काम भैरहेको छ ।
४८ करोड बढि लगानीमा २ बर्ष भित्र सक्ने गरि सडक निर्माणको जिम्मा पाएको चितवनको कालिका कन्ट्रक्सनले सडकको सर्बेको काम गरिरहेको हो । कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाश खरेलले सडकको सर्वेको काम अन्तिम चरणमा पुगेको बताए । सम्झौता भएको केही दिन देखी नै काम सुरु भएको बताउदै उनले सम्भवत सर्वेको काम आज नै सकिने बताए ।
उनले सर्बेको काम अन्तिम चरणमा पुगेपनि तत्काल बाकिँ काम अगाडी बढाउन समस्या रहेको बताए । खोलानाला बन्द छन् , सरकारले अहिले नदीजन्य पदार्थहरु उठाउन दिएको छैन त्यसैले अहिले नै काम गर्न समस्या भएको छ उनले भने अब नदीजन्य पदार्थको निकासीका लागि असोजमा मात्रै टेण्डर हुने भन्ने छ त्यसपछि बाकिँ कामलाई अगाडी बढाइने छ ।
गोदावरी नगरपालिका वडा नं ५ को गेटा मुख्य प्वाइन्ट रहने गरि गेटा आँखा अस्पताल देखी लालपुर चोक सम्म (५ दशमलब ३ किलो मिटर ), लालपुर चोक देखी गौडी सम्म (९०० मिटर ), गेटा आँखा अस्पताल देखी जोनापुर जाने बाटो (५ दशमलब ५ किलो मिटर ) , राजमार्ग देखी कत्था फ्याक्ट्री सम्मको ( १ दशमलब ३ किलोमिटर ) , अत्तरिया बसपार्क देखी पश्चिमपट्टी नमस्ते होटेल जाने गल्ली (४ सय २८ मिटर) र चौकीडांडा देखि चाक्ले खोला सम्म (१ दशमलब ३ किलोमिटर) सडक सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक वत्ति, अण्डरग्राउण्ड विद्युतीकरण सहितको चार लेन र दुई लेनको बन्ने छ ।
उक्त सडकहरु निर्माणका लागि असार २८ गते कालिका कन्सट्रक्सन प्रालिसंग ४८ करोड १७ लाख ६७ हजार ३ सय ८ रुपैयामा सम्भौता गरिएको थियो । सडक निर्माण गर्दा सम्बन्धित सबैको साथ सहयोग पाएमा २ बर्षको अबधि दिएपनि त्यो भन्दा अगाडी नै काम सकिने दाबी गरिएको छ ।