कञ्चनपुर - सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य द्रुतगतिमा अगाडि बढाइएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रू। १८ करोड ४९ लाखको लागतमा सडक कालोपत्र गर्ने कार्य अगाडि बढाइएको हो ।
आव २०७६र७७ मा सडक निर्माणको कार्य ठेक्का प्रक्रियामार्फत अगाडि बढाइएको छ । सडकमा कालोपत्रका लागि बेस राख्ने कार्य अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख धीरेन्द्र भट्टले बताए । उनका अनुसार आगामी पुस मसान्तभित्र सडक कालोपत्र गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।
दैजी लिप्ना सडकको कुल लम्बाई २२ किलोमिटर भए पनि दैजीदेखि छेलासम्मको साढे पाँच किलोमिटर कालोपत्र भइसकेको छ । सडकमा पुलपुलेसा, कल्भर्ट निर्माण गर्ने कार्यसमेत अगाडि बढाइएका छन् ।
कञ्चनपुर–डडेल्धुरा जोड्ने छोटो मार्गका रुपमा रहेको दैजी–लिप्ना सडक निर्माण भएपछि कम समयमै दूरी तय गर्न सकिने भएको छ ।
सडक डिभिजन कार्यालयले २०७४ सालमा सो सडक निर्माणको कार्य सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेको थियो । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले भने, ‘कञ्चनपुरदेखि डडेल्धुरा पुग्न पहिला छ देखि आठ घण्टासम्म लाग्ने गरेकोमा यस सडकबाट अब चारदेखि पाँच घण्टामै पुग्न सकिने छ ।’
कञ्चनपुर जिल्लाका महत्वपूर्ण पर्यटकीय क्षेत्र लिङ्गा, घटाल थान र बेदकोटलाई यस सडकले जोड्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सहज रुपमा अवलोकन गर्न पाउने छन् । कञ्चनपुरको बेदकोट धार्मिक क्षेत्र र डडेल्धुराको पर्शुराम धार्मिक क्षेत्रसम्म पुग्नसमेत सडकले सघाउ पुर्याउने भएको छ । रासस