काठमाडौं - किसान नेता भिमदत्त पन्तको आज ६७औँ स्मृती दिवस मनाइँदैछ। दिवसको अवसरमा शहिद पन्तको जन्मस्थल डडेल्धुरा लगायत अन्य ठाँउमा विविध कार्यक्रम गरी उनको सम्झना गरिदैछ।
किसान नेताका रुपमा निकै चर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएका थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले हरेक बर्ष स्मृती दिवस मनाउदै आएको छ।
स्मृती दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुरा सदरमुकाम बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ। यस्तै साँझ ७ बजे दिवप्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले जानकारी दिए।
नेपाली जनताको मुक्ती र सर्वहारा बर्गको पक्षमा लड्दा लड्दै हत्या गरिएका पन्तलाई सरकारले शहिदको सूचीमा राखेको थिएन । किसान नेता पन्तलाई शहिद घोषणा गरिनु पर्ने आवाज लामो समयदेखि उठ्दै गरेपछि सरकारले बाध्य भएर २०७२ फागुन १९ गते पन्तलाई शहिद घोषणा गरेको थियो । नुन आन्दोलनबाट चर्चामा आएका शहिद पन्तलाई तात्कालिन शासकहरुले हत्या गर्न लगाएका थिए ।
कस्तो दुःख भोगे भिमदत्तले?
क्रान्तिमा लागेकाले भिमदत्त पन्त घरको काममा समय दिन सक्दैनथे। गाउँका ठालुहरु सबै बिरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नि पार्वती पन्तकै हुन्थ्यो। नावालक दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागि रहे।
दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को विवाह गरे। कान्छी श्रमितिबाट छोरी जन्मिइन। उनको पनि ७-८ वर्षकै हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छि श्रीमतिले अर्को बिवाह गरिन ।
भीम दत्तका बिरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट विचलित भएनन। उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन । यहीबेला अन्याय बिरुद्ध संगठीत भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए । गाउँका ठूला ठालुहरुलाइ अनिवार्य उपस्थित हुन उर्दि जारी गरे । सबैलाई जय दाशको हातको पानी खान लगाए।
भिमदत्तले गरेको आन्दोलन
गरीबहरुलाइ संगठीत गर्न भीम दत्त गााउँ भ्रमण गर्न जान्थे। सुदुरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लाहरुमा भ्रमण गर्दा गरीबहरुले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रहमदेवमा भएको गाोदामबाट गरीबहरुलाइ नुन, कपडा, वितरण गरे । यस घटनाका दिन गरीबहरुको ठूलो जनमासले भीम दत्त पन्तको स्वागत गरी भीम दत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे।
यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो। भागेर ज्यान बचाइ कञ्चनपुर आए। धर्मसिंह डिट्ठालाइ बोरीमा बाँधेर महाकालीमा फाले। जोगराज सुबेदारलाइ बोरीमा बाँधेर फाल्न लाग्दा उनको श्रीमतिले बाटोमा गएर बचाइन ।
काली गोरी महिला बेचेको कर उठाएर खाने जयदेव सुब्बालाइ पनि बोरीमा बाँधेर महाकालीमा फाल्ने योजना थियो। गााउँलेहरुले थाहा पाएर बिहान महिलाको पहिरनमा पानी लिन गएको बहाना गरी महाकाली पारी पठाएकाले ज्यान जोगियो।
त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाइ तपाइ पनि सामन्त हो भनी घरमा भएका तमसुखहरु च्याते। विष्टहरुको घरमा भएका तमसुखहरु संकलन गरी बोरीमा हालेर जलाइदिए। मालअड्डामा भएका मूठहरु जलाइ दिए। त्यसपछि बडाहाकिम मोहन बहादुर सिंहलाइ हटाएर आफु बडाहाकिम भइ बसे। क्र्रान्तिमा सहयोग गर्नेहरुलाइ कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए।
कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो, भन्ने नाराका साथ जोताहा किशानका पक्षमा वकालत गरे । बेलौरीमा बैक कब्जा गरि त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे । उठ जागरे, नेपाली नवजवान जागरे । नेपालमा तम म, नेपाल देशलाइ स्वतन्त्र बनाँउरे । भन्ने उहाँको देशभक्ति गीत (प्राथना) थियो ।
बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो , गरीबका दिन आया ठालुको काल आयो । उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि, भीम दत्त पन्त देशलाई स्वतन्त्र बनाउने । गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियान थिए ।
कसरी भयो ? भिमदत्त माथी दमन
भिमदत्त पन्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन । त्यसमाथी दलितहरुको घरमा खाना खाने, तमसुख जलाउने, बेदखली गर्नेलाई कारवाही गर्ने ब्यावहारले उनका बिरोधी बढ्दै गएका थिए। सरकारी अड्डाले उनको बिषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे । उनीहरुले भीम दत्तलाइ मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाइ पैसा समेत दिए।
सरकारले भिमदत्त पन्तलाई पटक पटक जेल हाल्यो। त्यसबाट पनि भीम दत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो । भीम दत्त पन्त बेलौरी कब्जा गरि धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्यो।
चारैतिर भारतीय सेनाले घेरको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो। त्यस अवस्थामा पनि भीम दत्त पन्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निंगाली, सहजपुर हुँदै बुडर पगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए। २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेका बेला गोली हानियो । मलाई पक्राउ गर । गोली नहान भन्दा मानेनन । गोली लागी छटपटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहन बहादुर सिंहलाई बुझाईयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो।
काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन। गाउँमा काजक्रिया गर्न बाहुन पाईएन । क्रिया पनि गर्न दिईएन । पानीको मुहान छुट्याइयो । गौरा अलग गरियो । उनको परिवारलाई मेलापर्व, मन्दिर, पानीपधेरोबाट बञ्चित गरियो। गाउँमा क्रिया गर्न समेत नपाईने भएपछि ४० तोलाको कल्ली, २२ रुपयाँ तोला सुन, घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त, भीम दत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरे।
शहीद घोषणा
किसान आन्दोलनको नेतृत्व गरि सबै दलका आदर्श बनेका भीम दत्त पन्त लामो समयपछि शहीद घोषणा हुनु भएको छ । २०७२ फागुनमा सरकारले भिमदत्त पन्त सहित किसान बिद्रोहका २२ नेताहरुलाई शहीद घोषणा गरेको छ ।
भिमदत्तको राजनीतिक यात्रा
भारतबाट नेपाल फर्किसकेपछि शहिद भिमदत्त बि.स.२००६ सालमा नेपाली कांग्रेसको सदस्यता लिएको बताइन्छ। त्यसपछि बि.स.२००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि उनले काङ्ग्रेस पार्टी छोडे।त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले बि.स. २००९ सालमा काठमाडौं आएर कम्युनिष्टहरुको सर संगत गरे।
शहिद भिमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो ।