कैलाली - जिल्लामा दुई दिनको लगातार बर्षासंगै नदीमा आएको बाढीले प्रभावित भएकाहरु घर फर्किन थालेका छन् । घरमा पसेको बाढी घटेपछि जिल्लाको टिकापुर नगरपालिका र जोशीपुर गाउपालिकाका बाढी प्रभावितहरु घर फर्किन थालेका हुन् । यद्धपी भजनी नगरपालिकाका प्रभावित भने अहिले सम्म घर फर्कन सकेका छैनन् ।
टिकापुर र जोशीपुर गरि दुवै स्थानिय तहका धेरै जसो बिस्तापित परिवारहरु आ–आफ्नो घरतिर फर्किरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
जोशीपुर गाउँपालिकामा मात्रै दुई हजार ५०० सय घर परिवार बाढीबाट प्रभावित भएका थिए । पानी घटेपछि प्रभावितहरु अवस्था हेरेर घरमा फर्किने कार्य जारी रहेको जोशीपुर गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण स्रोत व्यक्ति भानुभक्त उपाध्यायले बताए । सबै प्रभावित भने तत्काल नै घर फर्किन सक्ने अवस्था अझै नरहेको उपाध्यायले बताए ।
उनका अनुसार कतिपय क्षेत्रमा अझै पनि बाढीले घर डुबाएको छ । घर फर्किन नसकेकाहरु सुरक्षित ठाउँमा बसेको जनाइएको छ । भजनी नगरपालिकामा घर भित्र पसेको बाढी नघटेपछि प्रभावितहरु सडकमै बस्न बाध्य रहेका छन् । बाढी नघटेका कारण उनीहरुको अवस्था निकै कठिन रहेको छ । मोहना, पथरैया, काँढा र कान्द्रा नदीमा पुनः पानीको सतह बढेपछि प्रभावित झनै समस्यामा परेका हुन ।
बुधबार आएको बाढीले सो नगरपालिकाका दुई हजार ४१५ घरपरिवार प्रभावित भएका छन् । भने, एक हजार ६७१ घरपरिवार विस्थापित भएका छन् । बाढी नघटेकाले विस्थापित परिवार घरमा फर्किन सक्ने वातावरण सृजना नभएको भजनी नगरपालिकाका विपद् जोखिम न्यूनीकरण स्रोतव्यक्ति खिम पनाडीले बताए ।
‘बाढी घटेकै छैन, नदीमा पानीको सतह फेरि बढ्न थाल्यो’, उनले भने । ‘यहाँका प्रभावितहरुको अवस्था झनै विकराल बनिरहेको छ ।’ सो नगरपालिकाको वडा नम्बर ८, ७ र ३ का अधिकाङ्श विस्थापित परिवार हुलाकी सडकमा बसेको भजनी नगरपालिकाले जानकारी दिएको छ । उनीहरुलाई हालसम्म चिउरा, चाउचाउ जस्ता ‘ड्राइ फूड’ र पानीबाट बच्नका लागि त्रिपालमात्रै दिने कार्य भएको पनाडीले बताए ।