काठमाडौँ – उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९१ पुगेको छ। बुधबार मात्रै काठमाडौँमा १४ र ललितपुरमा एक गरी उपत्यकामा १५ जना संक्रमित थपिएका छन्। मंगलबार मात्रै उपत्यकामा ५३ जनामा संक्रमण देखिएको थियो।देशका अन्य जिल्लाहरुमा संक्रमितको संख्या घट्दै जाँदा जिल्लाका विभिन्न अस्पतालहरु खाली हुन थालेका छन्। तर पछिल्लो केही साता यता उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि उपत्यकाका कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि तोकिएका हब अस्पतालहरु भरिन थालेका हुन।
यस्तै ५ हजार २ सय ३ संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपत्यका विभिन्न हब अस्पतालहरुमा १ सय ६५ जना संक्रमितको उपचार भइरहेको छ।देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ रहेको छ। यसमध्ये १४ हजार २१ संक्रमित निको भएर घर फर्किसकेका छन् भने मृत्यु हुनेको सँख्या ५० पुगोको छ।
पछिल्लो समय संक्रमितहरुमा कोरोना भाइरसका सामान्य लक्षण देखिन थालेको चिकित्सकले बताएका छन्। यसका कारण संक्रमितहरुलाई आइसियूमा भर्ना गर्न थलिएको छ। लकडाउन भन्दा अगाडि संक्रमण देखिएका वृद्धा दीर्घरोगीहरुलाई मात्र आईसियूमा भर्ना गर्ने गरिएको थियो।
सरकारले साउन ७ गते साँझ लकडाउन अन्त्य भएको घोषणा गरेसँगै बिना कुनै रोकावट उपत्यका प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको विज्ञहरुले बताए।
सरकारले लकडाउन अन्त्यसँगै सार्वजनिक सवारी साधन खुला गरेपछि कोरोना भाइरसको संक्रमण र महामारीको जोखिम बढ्न थालेको विज्ञहरुले बताउछन्।उपत्यकालाई सम्भावित क्षति हुनबाट जोगाउनका लागि सरकारले पीसीआर परीक्षणको दायरालाई बढाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए।
उनका अनुसार, ‘सरकारले पीसीआर परीक्षण घटाउँदै लगिरहेको छ। लकडाउन भएको भए घटाउँदै जाँदा खासै फरक हुँदैनथ्यो। तर लकडाउन खुलिसकेपछि परीक्षणको दायरालाई अझ फराकिलो बनाउँदै जानु पर्छ। जति धेरै परीक्षण गर्न सक्यो, समुदायमा फैलिएको संक्रमणले भयावह स्थिति निम्त्याउन सक्दैन।’यस्तै, संक्रमणको जोखिम बढेपछि केही दिन अगाडिबाट राजधानी पस्ने नागढुङ्गा, साँगा र फर्पिङ गरी उपत्यकाका तीन मुख्य नाकामा यात्रुहरुको स्वाब संकलन गर्न थालिएको छ।