काठमान्डौ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेको बैठकको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षता गरेका थिए । प्रचण्डले पार्टीभित्रको विवादका विषयमा सहभागी सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।
बैठकले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गलत गरेको निष्कर्ष निकालेको छ । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने बताए ।
उनले स्थायी कमिटीका सबै सदस्यलाई पार्टी एकता कायम राख्नका लागि आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'कमरेडहरु यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ । कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन रोक्नका लागि सबैले भूमिका खेलौँ । पार्टीलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्छ ।'
उपाध्यक्ष बामदेव गौतमले कसको कारणले पार्टी गम्भीरमा मोडमा पुग्यो भन्दै प्रश्न गरेका छन् । उनले अध्यक्षद्वयको पदको लडाइँमा पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताए । महाधिवेशन गरेर पार्टीलाई संगठित रुपमा अगाडि बढाउन आफूले शुरुदेखि नै भन्दै आएको स्मरण गराए ।
यस्तै उनले पार्टीमा एक अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने निर्णय भएको र सोहीअनुसार पार्टी अघि बढ्नुपर्नेमा पनि जोड दिए । गत मंसिर ४ मा भएको दुई अध्यक्षको कार्यविभाजनबारेको सहमति जुटाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले अहिले पनि आफू त्यसमै अडिग रहेको बताए । यस्तै पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्षसामु राखेको ६ बुँदे प्रस्तावका विषयमा पनि गौतमले प्रष्ट पार्ने काम गरेको एक नेताले बताए ।
यस्तै बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी विवाद नीति र सिद्धान्तलाई छाडेर पदमा केन्द्रित भएको बताएका छन्।‘तपाईंहरू हाम्रा टाउका गन्ने र पदको बार्गेनिङ गर्ने गर्न थाल्नुभयो,’ रावलले भने,‘पदबाहेक अरू कुरालाई गौण बनाइएको छ। यही ताल हो भने सधैं साथ दिन गाह्रो हुन्छ।’