अत्तरिया - जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन कमजोर रहेको मनसुन आजदेखी पुन सक्रिय भएको बताएको छ । अहिले देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश सहित प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।
आज बेलुका देखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश सहित प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाभारी बर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन् ।
मनसुनी वायुसँगै नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले गतिविधि सक्रिय भएको उनले बताइन् । बर्षासंगै मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना पनि रहेकाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ । बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।