काठमाण्डौ -सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गरेका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता–कार्यकर्ता शुक्रबार प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
सुदूरपश्चिमका नेता कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक र पार्टी सङ्कटापन्न अवस्थामा पुगेको र निकास अनिवार्य भएको बताएको सह–इन्चार्ज खगराज भट्टले जानकारी दिए ।
भेटमा प्रचण्डले माओवादी केन्द्रलाई हिजोकै दृष्टिकोणबाट हेरेको र विगतको आग्रह–पूर्वाग्रह यथावत् रहेको र त्यसले दुई पार्टीलाई रुपमा जोडिए पनि सारमा मिल्नै नदिएको बताएको भट्टले जानकारी दिए ।
ओलीले पूर्वमाओवादी केन्द्र समूह तितरबितर बनाउन खोजेको, विभाजन गरेर आफ्नो दुनो सोझ्याउन लागेपछि एक्सन अनिवार्य भएको प्रचण्डले बताएका थिए । भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादी केन्द्र समूहका प्रभावशाली नेता मानिएका लेखराज भट्ट ओली खेमामा लागेपछि प्रचण्ड चिन्तित बनेका छन्।
लेखराज प्रती लक्षित गर्दै प्रचण्डले भने- 'बिगतमा उहाँले जे भन्नुभयो । जे गर्न चाहनुभयो त्यसैमा साथ, सहयोग दिएँ । अहिले मसँग एकशब्द नबोली, सल्लाह नगरी उहाँ आफैं टाढिनुभयो । उहाँका गुनासा, प्रश्न, जिज्ञासा, आलोचना आक्रोश जे भए पनि एकपटक छलफल गरेको भए त के बिग्रन्थ्यो । तर संवाद नै गर्नुभएन । उहाँले नै पहल गर्नुपर्नेमा मैले छोरी गंगा, जोखबहादुर महरालाई फोन गर्न पनि लगाएँ । अरू वरिष्ठ नेताहरूलाई पनि बोलाउन लगाएँ । मैले पनि यो बीचमा फोन नगरहेको होइन । खै किन, के बाध्यताले हो उहाँ आउनुभएन,” प्रचण्डको दुखेसो थियो ।
नेताहरु सँग प्रचण्डले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने बताएका थिए । पार्टी अध्यक्ष ओलीले विभाजनको तयारी गरिसकेको भए पनि अहिले, पेलान, उत्पीडनमा परेकाहरू एकजुट भएको (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूहको गठबन्धनका रूपमा), सबैले प्रयास गरेर दुर्घटनाको बाटोमा जान नदिने प्रयास गरिरहेको र पछिल्लो संवाद त्यसैमा केन्द्रित रहेको प्रचण्डले बताएका थिए ।