कैलाली - नेपाली कांग्रेस कैलालीका नेता पुष्करनाथ ओझा पार्टीबाट निष्कासन भएपछि कैलाली कांग्रेसमा खैलाबैला मच्चिएको छ । पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य समेत रहेका नेता ओझालाई पाटीले पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेपछि कैलाली कांग्रेसमा खैलाबैला मच्चिएको हो ।
उनी पक्षीय नेताहरुले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । यसै बिषयमा छलफल गर्नका लागि भोली सोमबार नेता कार्यकर्ताको भेला पनि बोलाइएको छ ।
विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्न भेला बोलाइएको नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले बताएका छन् । ‘पुष्कर दाइलाई कारबाही गर्ने पार्टीको निर्णयबारे छलफल गर्न भेला बोलाएका छौँ’ कुँवरले भने, ‘हामीहरुले सामूहिक राजीनामा दिनेसम्मको निर्णय गर्न सक्छौँ ।’
उनले नेता ओझा माथि गरिएको कारबाही बदर गर्न दबाब दिने र आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलका लागि पनि भेला बोलाइएको बताए । कुँवरले आर्थिक अवस्था कमजोर भएका र सामान्य परिवारबाट उदायका नेताहरुलाई कमजोर पार्ने षडयन्त्र गर्दै ठेक्का पट्टामा संलग्न मान्छेहरुलाई नेता बनाउने प्रयास भइरहेको समेत आरोप लगाए ।
पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको उनको भनाई थियो ।
२०७० सालको उप निर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट भएका थिए ।
पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आर्जुको प्रचारमा गएका थिएनन् । त्यसपछि आर्जुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो । त्यहाँ नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भएका थिए । ओझाको कैलालीमा राम्रो पकड रहेको छ ।