धनगढी - सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो साताको मंगलबार दार्चुलामा विपद्का घटनामा थप दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा पहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ। यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिरोका २५ घटनामा ११ को मृत्यु भएको छ।
पहिरोका कारण एक अझै बेपत्ता रहेका छन् भने आठ घाइते भएका छन्। प्रदेशमा बाढीका छ घटनामा धनमालको निकै क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन्। बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन। विपद्का घटनमा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ। पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण सातजनाको मृत्यु भइसकेको छ।
विपद्बाट बझाङमा तीन पुरुष र चार महिलासहित सातको मृत्यु भएको छ। पहिराका कारण एक अझै बेपत्ता छन्। पहिरोबाट एक घाइते भएका छन्। बाढी तथा पहिरोबाट ३४ परिवार विस्थापित भएका छन् भने १७ घरमा पूर्ण क्षति पुगेको जनाइएको छ। केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का सबैभन्दा बढी घटना दार्चुलामा भएका छन्।
पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा विपद्का विभिन्न १० घटना भएका छन्। ती घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष र तीन महिला गरी पाँच घाइते भएका छन्।
बाढी र पहिरोका घटनामा दार्चुलामा छ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ। बाढी तथा पहिरोबाट दार्चुलामा नौ परिवार विस्थापित भएका छन्।
बाजुरामा विपद्का आठ घटनामा एक महिला र एक पुरुष गरी दुईको मृत्यु भएको छ। बाढी तथा पहिरोबाट बाजुरामा २० परिवार प्रभावित भएको जनाइएको छ। पछिल्लो एक महिनामा डोटीमा आठ विपद्का घटना भएका छन्। बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई विपद्का घटना भए पनि मानवीय क्षति भने भएको छैन। कैलालीमा बाढीबाट १४ घरपरिवार र कञ्चनपुरमा दुई घर प्रभावित भएको जनाइएको छ। रासस