काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष ओलीको खुलेर नै चर्को आलोचन गरे ।
पार्टीको स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीकै पहलमा नेकपा एमाले दर्ता गरेर पार्टी एकताविरुद्ध अध्यक्ष ओली लागेको आरोप लगाए । उनले भने, ‘पार्टी संकटमा छ किन कि हाम्रो बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको समेत सक्रियता र पहलमा भएको छ । देशभर केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भएको छ । हामीले पार्टीमा छलफल गरिरहेका छौं तर देशभरि जुलस भएको छ ।’
प्रचण्डले पूर्व एमालेले जबज र पूर्वमाओवादीले २१औँ शताब्दीको जनवाद तथा माओवादलाई मात्रै व्याख्या गर्नु पार्टी एकताविरुद्धमा जानु रहेको बताए । उनले भने, 'अहिले कताकता फेरि पछाडि फर्किन खोजेका संकेतहरु देखिएका छन् । अब मैले माओवाद जिन्दावाद भन्न थालेँ वा अर्कोले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्न थाल्यो भने पार्टी एकतालाई प्रवर्धन गरेको ठहरिँदैन ।’
नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला विगतमा ओली निकट देखिएका व्यक्तिले असार १४ गते निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन दिएका थिए । प्रधानमन्त्री ओलीकै निर्देशनमा अन्य नेतालाई भारतीय दलाल भन्दै सडक प्रदर्शनसमेत भएको थियो ।
सैद्धान्तिक र वैचारिक विषयबस्तुमा लामो समयसम्म बोलेका प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्णय गर्नेलाई दलाल र नक्सा जारी गर्न ढिला गर्नेलाई देवत्वकरण गरेकोमा आपत्ति जनाए । उनले भने, ‘निर्णय गराउने दलाल, जसले ढिला गर्यो उसकै देवत्वकरण हुन सक्दैन । त्यसो गर्नु भनेको विवेकले काम गरेको हुन सक्दैन ।’