बझाङ -सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ। दिनको एक पटक आउने पानी एक हप्तादेखि नआएपछि समस्या उत्पन्न भएको छ। बिहानबेलुका आउने खानेपानी एक हप्तादेखि नआएपछि आफूहरु बिहान उठ्नेबित्तिक्कै भाँडाकुँडा बोकेर सेतीनदी जाने गरेको स्थानीयवासी रुमला कठायतले बताए।
खानेपानी नआउँदा खाना पकाउन, नुहाउन र भाँडाकुडा धुन समस्या भएको तथा फोहर पानीसमेत खानुपर्ने बाध्यता रहेको कठायतले बताए। लकडाउन खुलेसँगै बजारतिर आएका डेरावालालाई पनि थप समस्या हुने गरेको छ। होटल व्यवसायी पुतली लामाले भने, “धारामा पानी नआउँदा आधा घण्टा हिँडेर, त्यही पनि पालो कुरेर ल्याउने गरेका छौँ।”
खानेपानी नआएपछि होटलमा भाडाँकुडा धुन र शौचालयमा प्रयोग गर्नसमेत समस्या भएको छ। “त्यति मात्रै नभएर कोठामा पानी नआएको हप्ताँै भइसक्यो, सेतीबाट पानी ल्याएर कहिलै बिहान त कहिले बेलुका खाना खाने गरेका छौँ”, सदरमुकाममा बस्दैआउनुभएका शिवम रोकायाले भने। यता लगातारको बर्खाले खानेपानीका मुहान र ठाउँठाउँमा पाइप बगाउँदा तथा पहिराले क्षति पु¥याउँदा खानेपानी वितरणमा समस्या भएकाले केही दिनभित्रै मर्मत गरी सबै लाइनमा वितरण गरिने चैनपुर खानेपानीका उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए।
जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले भने, “पहिरोले खानेपानीको पाइप बगाउँदा उपभोक्ता मारमा परेकाले खानेपानी उपभोक्ता समितिलाई छिटोछरितो मर्मत गरी पानी सञ्चालन गर्नका लागि मैले बेलाबेलामा भेटेर भन्दै आएको छु। वर्षात् कम हुनेबित्तिकै केही दिनमा पानी नियमित सञ्चालनमा आउने छ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सन्दीप ओखेडाले नदीको पानी शुद्धीकरण गरी खाए केही नहुने तथा उमालेर नखाएमा झाडापखाला, टाइफाइडजस्ता पानीजन्य रोग लाग्ने समस्या हुन सक्ने उनले बताए। खानेपानी नहँुदा सदरमुकामका झण्डै दुई हजार बासिन्दा मारमा परेका छन् । रासस