दार्चुला - दार्चुलाको महाकाली नगरपालिका—३ मा रहेको डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको छ । आईतबार राती परेको अविरल बर्षाका कारण लास्कुगाडमा आएको बाढीले डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले जानकारी दिए ।
लास्कुगाड पावरहावस तर्फ आएर विद्युत गृह भित्र पानी भरिएको उनले बताए । ' विधुत गृह भित्र झण्डै ३ फिट पानी भरिएको छ, भित्र जान सकिने अवस्था छैन, डोजर लगाएर पानीको धार परिवर्तन गर्ने काम भइरहेको छ,'उनले भने - 'बिधुत गृह भित्र जान सके कुन–कुन उपकरणमा क्षती पुग्यो भन्ने थाहा हुन्छ।'
बिधुत गृहमा क्षती पुग्दा सो क्षेत्रमा बिधुत सेवा अवरुद्ध भएको छ । व्याँस गाउँपालिकाको हुती, महाकाली नगरपालिकाको छापरी र मुल्ला क्षेत्रमा पूर्ण रुपमा विद्युत अवरुद्ध भएको हो । खलंगाको बंगाबगड क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गरेर विद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । धौलिगाड बाढीले डुङरी क्षेत्रमा पार्कीङ गरेर राखीएको जिपसमेत आधा पुरिएको प्रहरीले जनाएको छ ।
धाैलिगाड खाेला को बाढीले सडक बगायाे
यसैबिच दार्चुला सदरमुकाम खलंगा जनिकैको महाकाली नगरपालिका—५ धौलिगाड खोलामा आएको बाढीले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।पाँच वर्षदेखि मुआब्जा विवादका कारण पुल निर्माण कार्य रोकिएको उक्त खोलामा आएको बाढी र पहिरोले दार्चुला सदरमुकाम खलंगासंगको सम्पर्क टुटाएको छ । वर्षा रोकिएर खोलामा पानीको सतह घटेपछि उक्त स्थानमा सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।पहिराेले गल्फै वस्ती र नमस्कार बस्तीमा जाेखिम बढेकाे छ ।
नौगाडको पहिरोमा परी दुई जनाको मृत्यु
जिल्लाको नौगाड गाउँपालिका—६ परिगाउँमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । आइतबार रातीको अबिरल वर्षाका कारण आएको पहिरोमा परेर मानसिंह ठगुन्नाकी पाँच वर्षीया छोरी आरती ठगुन्ना र हरजित ठगुन्नाकी ३२ वर्षीया श्रीमती मानमती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर नै पुरिएर बेपत्ता भएका दुबै जनाको सव सोमबार दिउँसो फेला परेको छ । पहिरोमा परी स्थानीय पाँच जना घाइते भएका छन । घाइतेलाई स्थानीय र सुरक्षाकर्मीको टोलीले उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको छ ।
पहिरोले स्थानीय शालिभान धामी, हरजित धामी, देबसिह धामी, साइमल धामी, दुर्गा खत्री र किसन धामीको घर पुर्ण रुपमा विस्थापित भएर छ परिवार घरबारविहिन भएका छन् । यस्तै पहिरोमा परेर कम्तीमा एक सय ५० बाख्रासहित दुई सय पशुचौपायाको ज्यान गएको स्थानीय प्रकाश धामीले जानकारी दिए । समौजी आधारभुत विद्यालयको १४ कोठे विद्यालय भवन, दुई वटा पुल र पाँच वटा पानी घट्ट लगायतका भौतिक संरचना पुर्ण रुपमा नष्ट भएका छन् ।