कैलाली - नेपाल–भारत सीमावर्ती वनगाउँ बजार सुनसान छ । कोरोना भाइरस कोभिड– १९ महामारीपछि नेपाली उपभोक्ताको उपस्थिति नभएपछि वनगाउँ बजारमा चहलपहल घटेको हो।
धनगढीबाट तीन किलोमिटर दूरीमा रहेको यो बजारका अधिकांश उपभोक्ता नेपालबाटै जाने गर्थे । कोरोना महामारीपछि सीमा क्षेत्र सिल भएसँगै भारतीय बजारमा नेपाली उपभोक्ता देखिन छाडेका छन्। नुन, तेल, चिनी, तरकारीलगायत घरायसी प्रयोजनका लागि आवश्यक सामान किन्न भारतीय बजार जाने गर्थे ।
तर अहिले अवस्था त्यस्तो छैन। कोरोना महामारीले भारतीय बजारमा जाने अवस्थाको अन्त्य भएको छ। धनगढी उपमहानगरपालिका–३ का काशीराम चौधरी भन्छन् ‘सीमा सिल भएपछि नेपालीले वनगाउँ जान पाएनन्, धनगढी बजारको सामान चिन्ने अवसर मिलेको छ, नेपाली उपभोक्ता र व्यापारीलाई यो फाइदाको कुरा हो।’
धनगढीकै स्थानीय हीरालाल भट्ट लकडाउनअघि घरायसी समान किन्न भारतीय बजार जाने गर्थे। उनी भन्छन्, ‘अब त धनगढीमै किन्ने हो।’ कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न सिकाएको उनको अनुभव छ। सशस्त्र प्रहरी कैलालीका एसपी कमल तिमिल्सिनाका अनुसार सीमावर्ती बजारमा नेपालीलाई प्रवेशमा पूर्ण रोक छ।
आपतकालीन अवस्थाका बिरामीलाई मात्र विशेष अनुरोधमा पठाउने गरेको उनले बताए। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘भारतीय बजारमा भन्दा धनगढीमा सस्तो पाइन्छ, भारतीय उत्पादनभन्दा गुणस्तरीय वस्तु हामीकहाँ छन्।’ कोरोना महामारीपछि भारतीय सीमा बन्द भारतमा खर्च हुने पैसा स्वदेशमै खर्च भएको उनले बताए।