कैलाली- सुदूरपश्चिमका विभिन्न जिल्लामा वन क्षेत्र तीव्र रुपमा अतिक्रमण भैरहेको छ । डभिजन वन कार्यालय कैलाली र डडेल्धुराको अभिलेख अनुसार जिल्ला भित्र २२ हजार ४ सय ७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको विवरण महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख गरिएको छ ।
बिभिन्न नाममा जिल्लामा वन क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरु निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ । डिभिजन वन कार्यालय, कैलालीको पञ्चवर्षीय वन व्यवस्थापन कार्य योजना अनुसार २२ हजार १ सय १५ हेक्टर वन क्षेत्र अतिक्रमण भएको उल्लेख गरिएको छ । विभिन्न क्षेत्रको अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालय कैलालीले ५० हेक्टर अतिक्रमण हटाएको जनाएको छ।
थप अतिक्रमण क्षेत्र पनि हटाउनुपर्ने उल्लेख छ । यस्तै डडेल्धुराका विभिन्न वन क्षेत्रमा पनि अनियन्त्रित तरिकाले खोटो संकलन गरेको कारण वातावरणीय जोखिम बढेको महालेखाको ठहर छ ।
भागेश्वर गाउँपालिकाको वन क्षेत्रमा अत्यधिक संख्यामा रुखहरु ढलापढा अवस्थामा रहेको र वनका रुखहरुमा आगो समेत प्रयोग भएको प्रतिवेदनमा जनाइएको छ । खोटो संकलन गर्दा रुखहरु यथोचित व्यवस्थापन नगरी खोटो संकलनतर्फ मात्र केन्द्रित रहेको ठहर छ ।
डिभिजन वन कार्यालय डडेल्धुराको विवरणअनुसार यस वर्ष सरकारद्वारा नियन्त्रित वनबाट ८९ हजार १ सय ५४ केजी र सामुदायिक वनबाट ६ लाख ८३ हजार नौ सय २७ केजी खोटो संकलन भएको तथ्यांक छ।
उक्त खोटो संकलनका लागि राज एण्ड टर्पेन्टाइन प्रालि र वन विभागसँग सम्झौता भएको थियो। उक्त कम्पनीको बेवास्ताका कारण वन क्षेत्रमा जोखिममा परेको प्रतिवेदनको दाबी छ ।
वृक्षरोपण गरेर मात्र वार्षिक १ हजार ५ सय मेट्रिक टनसम्म खोटो संकलन गर्न सकिने प्रावधान छ। प्रतिहेक्टर माउ ५ रुख यकिन गरी आरक्षित गर्नुपर्ने जस्ता सर्तहरु कम्पनीले पालना नगरेको प्रतिवेदनमा उल्लेख छ। कम्पनीको बेवास्ताकै कारण खोटो संकलन गरिएको क्षेत्रमा आगलागीको उच्च सम्भावना बढेको, यत्रतत्र तरिकाबाट खोटो संकलनका कारण वातावरणीय जोखिम बढेको ठहर छ।