अत्तरिया - आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको र क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने मौसम विज्ञान विभागले जनाएको हो ।
आज सुदुरपश्चिम प्रदेश सहित वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ। यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
आज राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ। भोलि भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।