कञ्चनपुर - जिल्लामा कोरोना भाईरसका कारण प्रभावित भएका मुक्त हलिया समुदायलाई राहत दिन सुरु गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले एन्टी स्लेभरी इन्टरनेशनलको साझेदारीमा सञ्चालित मुक्त हलिया पुनर्स्थापनाका लागि पूर्ण सहयोग परियोजना अन्तर्गत राहत वितरण सुरु गरेको हो ।
कञ्चनपुरको भीमदत्त , शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास नगरपालिका र बेलडाडी गाउँपालिकाका ५५१ परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष दिलराम टमटाले जानकारी दिए ।
उनले बुधबार भीमदत्त–९ ब्रह्मदेव मटेनाका ५५ परिवारलाई राहत वितरण गरेको बताए । संघले मुक्त हलिया सहित दलित, विपन्न, र आपाङ्गता भएका व्यक्तिलाई राहत सहयोग गरिरहेको हो ।
मुक्त हलिया पुर्नस्थापनाका लागि पूर्ण सहयोग परियोजनाका फिल्ड अधिकृत मिथुन सिजापतिले २५ किलो चामल, तीन किलो दाल, दुई किलो नुन, दुई लिटर तेल, दुई किलो चिनी, साबुन लगायतका सामाग्री वितरण गरिएको जानकारी दिए। संघको यो परियोजना सञ्चालनमा रहेका सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा पनि राहत वितरण गर्ने कार्यक्रम रहेको छ।