अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा अबको २ बर्ष भित्रमा १६ किलोमिटर सडक पक्की बन्ने भएको छ । क्षेत्रिय शहरी बिकास आयोजना अन्तरगत गोदावरी नगरपालिका भित्र ४८ करोड बढि लगानीमा १६ किलोमिटर सडक पक्की बन्ने भएको छ ।
जसमा गोदावरी नगरपालिका वडा नं ५ को गेटा मुख्य प्वाइन्ट रहने गरि बिभिन्न सडकहरुको निर्माण गरिने क्षेत्रिय शहरी बिकास आयोजनाले जनाएको छ । जसमा गेटा आँखा अस्पताल देखी लालपुर चोक सम्म (५ दशमलब ३ किलो मिटर ), लालपुर चोक देखी गौडी सम्म (९०० मिटर ),गेटा आँखा अस्पताल देखी जोनापुर जाने बाटो (५ दशमलब ५ किलो मिटर ) , राजमार्ग देखी कत्था फ्याक्ट्री सम्म (१ दशमलब ३ किलोमिटर ) पक्की सडक बन्ने भएको हो ।
यस्तै अत्तरिया बसपार्क देखी पश्चिमपट्टी नमस्ते होटेल जाने गल्लीमा (४ सय २८ मिटर ), गोदावरी नगरपालिका चौकीडांडा देखी चाक्ले खोला सम्म ( १ दशमलब ३ किलोमिटर ) बाटो नाली सहितको ब्यबस्थित बन्ने भएको हो । उक्त सडकहरु निर्माणका लागि असार २८ गते कालिका कन्सट्रक्सन प्रालिसंग ४८ करोड १७ लाख ६७ हजार ३ सय ८ रुपैयामा सम्भौता गरिएको छ ।
सम्झौता भएको २१ दिन भित्र अर्थात यही साउन १८ गतेदेखी कामको सुरुवात हुने कालिका कन्सट्रक्सनका प्रतिनिधी प्रकाश चन्द्र खरेलले बताए। उनले सम्झौता भइसकेपछि केही दिन सडकको सर्भे गर्ने काम हुने र सर्भे भैसकेपछि बाकिँ निर्माणको कामलाई अगाडी बढाइने बताए । सोही बिषयमा क्षेत्रिय शहरी बिकास आयोजनाले आज गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद , उप प्रमुख रत्ना कडायत , ५ ,६ र ८ का वडा अध्यक्ष , निर्माण कम्पनी तथा स्थानियहरुलाई योजनाको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीयाले बिचमा कुनै बाधा अबरोधहरु नआएमा २ बर्ष भन्दा अगाडी नै काम सकिने दाबी गरे ।
उनले अहिले सडक निर्माण गर्दा प्रमुख चुनौतिका रुपमा बिजुलीका पोल , टेलिफोनका पोल र खानेपानीका पाइपहरु रहेकाले सम्बन्धित सबैको साथ सहयोग पाएमा २ बर्षको अबधि दिएपनि त्यो भन्दा अगाडी नै काम सकिने बताए । उनले यसका लागि स्थानिय संगै जनप्रतिनिधिहरुको पनि महत्वपुर्ण साथ चाहिने बताए । क्षेत्रिय शहरी बिकास आयोजना अन्तरगत गोदावरी नगरपालिका नगरपालिकाको भवन निर्माण र फोहोर मैला ब्यबस्थापनको काम पनि भैरहेको छ ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले २ बर्ष भित्रमा १६ किलोमिटर सडक बन्नु नगरपालिकाका लागि खुसीको कुरा रहेको बताइन् । उहाँले काम गर्दै जादा थुप्रै चुनौतीहरु आउने भएपनि आएका योजनाहरुलाई सबैले मिलेर सरल र सहज रुपमा चाडो भन्दा चाडो सम्पन्न गर्नुपर्ने बताइन् ।
नगरको समर्ग विकासका लागि शहरी विकासवाट प्राप्त बजेट र योजनाका बारेमा सबै जनप्रतिनिधिहरु माझ प्रष्ट हुनुपर्ने उनको भनाई थियो । नगरप्रमुख साउँदले सुरुमा २१ किलोमिटर सडक छनौट गरिएको भएपनि तत्काल १६ किलोमिटर सडकलाई पक्की बनाउने भनेर शहरी विकाससंग छलफल भएको बताए ।
उनले नगरपालिकाको विकासका लागि सबैले आआफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने बताए । यसका लागि नगरपालिका र सम्बधित वडाका जनप्रतिनिधिहरुवाट हुने सम्पुर्ण सहयोगहरु गर्नका लागि आफुहरु तयाररहेको समेत उनको भनाई छ ।