अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको न्यायिक समितिमा स्थानियहरुको आशा भरोसा बढ्दै गएको पाइएको छ । स्थानिय सरकार गठन भई सकेपश्चात गाँउघरमा हुने फौजदारी बाहेका घटनाहरुलाई स्थानिय स्तरमै समाधान गर्नका लागि गोदावरी नगपालिकामा गठन भएको न्यायिक समितिमा प्रत्येक बर्ष मुद्धा अर्थात फिरादको संख्या बढ्दै गएकाले न्यायिक समितिप्रति स्थानियहरुको आशा र भरोसा बढ्दै गएको पाइएको हो ।
२०७४ साल भदौ ३१ गते गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतको संयोजकत्वमा गठन भएको न्यायिक समितिमा ३ बर्षको अबधिमा बिभिन्न प्रकृतिका गरेर १ सय ९७ वटा मुद्धाहरु दर्ता भएका छन् । न्यायिक समितिकी संयोजक एबम् उपप्रमुख कडायतले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकामा न्यायिक समिति गठन भएपश्चात समितिले हाल सम्म सम्पादन गरेका कृयकलापका बारेमा जानकारी दिएकी हुन् ।
हाल सम्म दर्ता भएका १ सय ९७ वटा मुद्धाहरु मध्ये १ सय ७२ वटा मुद्धाहरु फछ्र्यौट अर्थात मेलमिलाप गरेर पठाइएको उनले बताइन् । उनले चालु आर्थिक बर्ष २०७६÷०७७ मा मात्रै ८१ ओटा मुद्धाहरु परेकोमा ५६ वटाको मिलापत्र भैसकेको र २५ वटाको बाकिँ रहेको बताइन् ।
बिगतका बर्षहरुमा भन्दा यस बर्ष केही बढी मुद्धाहरु परेको सबैको मिलापत्र गर्ने तयारी भएपनि कोरोनाको महामारी र देशमा जारी लकडाउनका कारण मिलापत्र गराउनमा समस्या भएको उनको भनाई छ । उनले न्यायिक समितिमा सबै भन्दा बढी जग्गा सम्बन्धि र घरेलु हिंसा सम्बन्धि बिवादका मुद्धाहरु आउने गरेको बताइन् ।
चालु आर्थिक बर्षमा पनि सबै भन्दा बढी जग्गा सम्बन्धि २५ ओटा मुद्धाहरु परेकोमा १९ ओटाको मिलापत्र भएको र ६ वटाको प्रकृयामा रहेको संयोजक कडायतले जानकारी दिइन् ।
यस्तै घरेलु हिंसा÷महिला हिंसा सम्बन्धि १० वटामा ६ मेलमिलाप भएको ४ बाकिँ , बाटो तथा कुलो बिवाद सम्बन्धि ६ वटामा ४ मेलमिलाप र २ बाकिँ , ज्यालामजदुरीका ४ वटामा ३ को मेलमिलाप र १ बाकिँ , कुटपिट गालीगलौजका ११ वटामा पुरै ११ को र बाली नोक्सानीको एउटा मुद्धापरेको त्यसको पनि मेलमिलाप गरेर पठाएको उनले बताइन् ।
यसैगरि अंशमुद्धा सम्बन्धि २ वटामा दुवैको मेलमिलाप , अन्तरजातिय बिवाह सम्बन्धि एउटा र त्यसको पनि मेलमिलाप , जमिन भाडा उपलब्ध गराउने सम्बन्धिमा दुईमा दुवैको मेलमिलाप , लेनदेन सम्बन्धि ९ वटामा ६ को मेलमिलाप र ३ बाकिँ र घरबहाल सम्बन्धि १० वटा मुद्धा परेकोमा एउटाको मेलमिलाप र ९ वटा प्रकृयामा रहेको उनले जानकारी दिइन् ।
संयोजक कडायतका अनुसार बिगत ३ बर्षदेखी न्यायिक समितिमा जग्गा सम्बन्धि, घरेलु महिला हिंसा सम्बन्धि , लेनदेन सम्बन्धि , खोज तलास सिफारिस सम्बन्धि , सम्बन्ध बिच्चेद सम्बन्धि , कुटपिट , गाली गलौज र बाटोघाटो बिवाद सम्बन्धि मुद्धाहरु परेका छन् । गत आर्थिक बर्ष २०७५÷०७६ मा ७१ वटा मुद्धाहरु दर्ता भएकोमा ६५ वटा मेलमिलाप भएको र ६ मुद्धाहरु प्रकृयामा रहेका थिए भने आर्थिक बर्ष २०७४÷०७५ मा ६८ वाट मुद्धाहरु दर्ता भएकोमा ५१ वटा मेलमिलाप भएको र बाकिं १७ वटा मुद्धाहरु प्रक्रियामा रहेका थिए ।
प्रक्रियामा रहेका मुद्धाहरुलाई अगिल्लो आर्थिक बर्षहरुमा मेलमिलापमा लैजाने र मेलमिलाप हुन नसकेको जटिल खाले केशहरुलाई अदालतमा पठाउने गरिएको न्यायिक समितिकी संयोजक एबम् उपप्रमुख कडायतले बताइन् ।
न्याय सम्पादन गर्दा थुप्रै कठिनाईहरु रहेको बताउदै उनले आफुहरुले भने न्यायिक समिति दर्ता भएका मुद्धाहरुलाई सरल र सहज ढङ्गले दुवै पक्षलाई बोलाई दुवैलाई जितको अनुभूति हुने गरेर मेलमिलाप गरेर पठाउने गरिएको बताइन् ।
‘देशैभर गठन भएका न्यानियक समिति मध्ये कहि कतै मुद्धा नै नआउने , मुद्धा आएपनि सम्पादनमा कठिनाइ भैरहेको भन्ने खबरहरु आउने गरेका छन् , यद्धपी हाम्रोमा भने त्यस्तो छैन’उनले भनिन – ‘न्यायिक समिति प्रति स्थानियहरुको आशा भसोरा बढ्दो रहको मैले पाएकी छु , संबिधानले नै तोकेको स्थानिय सरकारले संचालन ऐन २०७४ अन्र्तगत दफा ४७ देखी ५३ मा रहेका अधिकारहरुमा टेकेर हामीले कामहरु गरिरहेका छौ ।’
उनले वडा स्तरमा पनि मेलामिलाकर्ताहरु गठन गरिएको र वडामा समाधान हुन सक्ने मुद्धाहरुलाई वडामै मिलाउने गरिएको र नभए पछि न्यायिक समितिले नै हेर्ने गरेको बताइन् ।
फौजदारी बाहेका मुद्धाहरु मात्रै हेर्ने न्यायिक समितिले मुद्धा दर्ता भैसकेपश्चात दुबै पक्षलाई बोलाएर बृहत छलफल गरी दुवैलाई खुसी र जितको अनुभूति हुने गरी मुद्धाहरुको मेलमिलाप गर्ने गरेको उनले बताइन् ।
यहाँवाट मेलमिलाप गरेर पठाएका मुद्धाहरुको बारेमा हामीले निरन्तर निगरानी गरिरहेको र केही त्यस्ता घटनाहरु पनि हुन्छन जो जति गर्दा पनि मिलाउन निकै समस्या हुन्छ उनले भनिन् तर पनि हामी २ दिन ३ दिन ५ दिन गरेर पनि बोलाएर त्यसको छिनोफानो गर्ने गर्दछौ ।
उनले गत बर्ष पनि एक बर्षमा न्यायिक समितिले गरेका कामका बारेमा पत्रकार सम्मेल गरेर जानकारी दिएकी थिइन् ।
उनले मेलमिलाप भएका घटनाहरु मध्ये थोरैमा फेरि समस्या आएपछि न्यायिक समितिमै राखेर छलफल गर्ने गरेको बताइन् । साविकको गा.वि.सलाई आधार मानेर अहिले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ । १२ वटै वडाभरी गठन भएको ५ वटा मेलमिलाप केन्द्रमा अहिले ७४ जना मेलमिलाकर्ताहरु रहेका छन् । उनले चालु आर्थिक बर्षमा इजलास पनि तयार भैसकेकोले अगामी दिनहरुमा काम गर्न अझै सहज हुने विश्वास ब्यक्ति गरिन् ।