अत्तरिया -सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी ताकिएको कैलालीको गोदावरी नगरपालिकामा दिर्घकालिन शहरी विकास योजनाहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा जनप्रतिनिधि र सरोकारवालाहरुसंग छलफल गरिएको छ । गोदावरी नगरपालिकामा लागु भएको क्षेत्रिय शहरी विकास आयोजना एडिबीले परामर्शदातावाट तयार पारेको दिर्घकालिन शहरी बिकास योजनाको ड्राफ्ट रिपोर्टलाई अन्तिम रुप दिनका लागि आज जनप्रतिनिधि र सरोकारवालाहरुसंग छलफल गरेको हो ।
प्रदेशको स्थायी राजधानी तोकिएपछि नगरपालिकामा बिभिन्न सम्भावनासगै चुनौतिहरु पनि थपिएकाले नगरपालिकाको समग्र विकासलाई दिर्घकालिन रुपमा अगाडी बढाउन सम्पुर्ण नगरबासीको भुमिका महत्बपुर्ण हुने नगरपालिकाले जनाएको छ । छलफल कार्यक्रममा सहभागि जनप्रतिनिध र सरोकारवाल निकायका प्रतिनिधिहरुले अबका विकास निर्माणका कामहरु एक दुई बर्षको लागि नभई दिगो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागिहरुले छुट्छुटै समुह बनाई अबको २० बर्ष भित्र गोदावरी नगरपालिकालाई कस्तो बनाउन सकिन्छ भन्ने बिषयमा आ आफ्ना सुझाबहरु प्रस्तुत गरेका थिए ।
स्थानियले गोदावरी नगरपालिकामा रहेको अब्यबस्थित बसोबासलाई ब्यबस्थित बनाईनुपर्ने सुझाब दिए । त्यस्तै गोदावरी नगरपालिका भित्र कुनै पनि कार्यक्रमहरु र खेलकुदका गतिबिध संचालन गर्न सभा हल र खेलमैदान नहुदा अत्यन्तै समस्या रहेको स्थानियको भनाई छ । गोदावरी नगरपालिकामा कृर्षिको राम्रो सम्भावना रहेकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने पनि स्थानियको सुझाब रहेको छ ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले गोदावरी नगरपालिकाका बडाहरु बिभिन्न सम्भावना बोकेको क्षेत्र भएकाले वडालाई फरक फरक क्षेत्रका रुपमा अगाढी बढाउनुपर्ने बताए । गोदावरी नगरपालिकाको वडा नं १ , २ र ८ ब्यापारीक क्षेत्र , २ र ४ धार्मीक तथा पर्यटकिय क्षेत्र , ६ र ७ औधोगिक क्षेत्र , ५ संस्थागत क्षेत्र , ३ , ९ ,१० ,११ र १२ कृषि तथा पशुपालन क्षेत्रको सम्भावना बोकेको क्षेत्र रहेको सहभागीहरुको भनाई छ । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउदले प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिकामा थुप्रै चुनौतीहरु थपिएकाले सबै चुनौतीहरुको समाना गर्दै अबको केहि बर्षमा नगरलाई नया रुपमा अगाडी बढाउन आफुहरुले योजना बनाइरहेको बताए ।
गोदावरी नगपालिकामा क्षेत्रिय शहरी विकास आयोजना एडिबीको योजनाहरु लागु भैसकेकाले बताउंदै उनले नगरपालिका भित्र निर्माण हुने योजनाहरुको दिगो बिकासका लागि सम्पुर्ण नगरबासीका सुझावहरु आफ्ना लागि निकै उपयोगि हुने जानकारी दिए । उनले छलफलका क्रममा उठेका सुझाव सल्लाहा र समस्याहरुको समाधान गर्न सबैले आ आफ्नो क्षेत्रवाट लागेमा धेरै बर्ष पर्खीनु नपर्ने धारणा राखे ।
छलफल कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउद , उपप्रमुख रत्ना कडायत , प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट , १२ ओटै वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , क्षेत्रिय सहरी बिकास आयोजना धनगढीका प्रतिनिधिहरु , समाजसेवी , बुद्धिजिवी , बिभिन्न राजनितिक दलका प्रतिनिधि , पत्रकार लगाएतको सहभागिता रहेको थियो ।