धनगढी -सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये एक हजार दुई सय ६७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म प्रदेशभर तीन हजार सात सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
असार लागेदेखि संक्रमण उच्च बनेको सुदूरपश्चिममा एक सातायता भने संक्रमण दर घटेको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।
प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिएका आठजनाको मृत्यु भएको छ । प्रदेशभर सबैभन्दा बढी कैलालीमा संक्रमितको संख्या झन्डै एक हजारनजिक छ । पाँच सयभन्दा बढी संक्रमित देखिएको जिल्ला तीनवटा छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा नाै सय ९४ जना, अछाममा पाँच सय ९२, डोटीमा पाँच सय ३५, कञ्चनपुरमा चार सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।बाजुरामा चार सय ४६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
त्यस्तै बैतडीमा दुई सय ९८, बझाङमा एक सय ५९, डडेल्धुरामा दुई सय ६९ र दार्चुलामा १९ जनामा संक्रमण देखिएको छ ।शंकास्पद १५ जनाकाे आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
भारतबाट फर्कनेको संख्या घटेसँगै क्वारेन्टाइनहरू पनि खाली हुन थालेका छन् ।अहिले प्रदेशभर चार हजार नाै सय ७३ जना विभिन्न क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।भारतबाट फर्कनेको घुइँचो लागेपछि जेठ अन्तिम सातातिर क्वारेन्टाइनमा बसेकाको संख्या ७५ हजारभन्दा बढी थियो ।