बझाङ - ह्युमानिटी फाउण्डेसन नेपालले बझाङको केदारस्यु गाउँपालिका– ८ मल्लेसीका पहिरोबाट पीडित २२ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
पहिरोमा परिवारका सदस्य गुमाएका तथा पहिरोले घर बगाएका कारण विस्थापित भएका २२ परिवारलाई ह्युमानिटी फाउण्डेसनले एक महिनाका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको हो ।
ह्युमानिटी फाउण्डेसन नेपालका प्रतिनिधि तथा पत्रकार बसन्त प्रताप सिंहले शनिवार दिउसो वडा नम्बर ८ का अध्यक्ष गणेश बोहरा मार्फत पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।
फाउण्डेसनले प्रति परिवार एक क्विन्टलका दरले २२ परिवारलाई २२ क्विन्टल चामल, प्रति परिवार पाँच किलोका एक क्विन्टल १० किलो मिक्स दाल, प्रति परिवार तीन लिटरका दरले ६६ लिटर खाने तेल, प्रति परिवार तीन किलो दरले ६६ किलो नुन, प्रति परिवार पाँच जनालाइ एकरएक ब्रसका दरले एक सय १० ब्रस, प्रति परिवार एक कोलगेटका दरले २२ वटा ठुलोवाला कोलगेट, एक सय १० वटा नुहाउने साबुन र एक सय १० वटा कपडा धुने साबुन बितरण गरेको हो ।
गत साता गाउँपालिका– ८ मल्लेसी गाउँमा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको थियो । पहिरोमा परी एक जना बेपत्ता भएका छन । २२ परिवार पहिरोमा घर पुरिएका कारण बिस्थापित छन । विद्यालय र गोठमा आश्रय लिइरहेका पहिरो पीडित परिवारलाई छाक टार्न समस्या भएको जानकारी पाएपछि फाउण्डेसनले राहत सामग्री वितरण गरेको हो ।
पीडा र अभाव बाँचिरहेका पहिरो पीडितहरुलाई राहत सामग्री प्रदान गरेकोमा वडा अध्यक्ष बोहराले फाउण्डेसनलाई धन्यवाद दिए ।
फाउण्डेसनले एक महिनाका लागि खाद्यान्न तथा अत्यावश्यकीय सामग्री वितरण गरेकोमा पहिरो पीडितहरुले समेत धन्यवाद दिए ।
जहाँ विपत्ति त्यहाँ ह्युमानिटी फाउण्डेसन भन्ने नाराका साथ स्थापना गरिएको फाउण्डेसनले यसअघि भारतबाट आएका २६ हजार भन्दा नेपालीलाई सीमामा निशुल्क खाना वितरण गर्नुका साथै कोरोनाको परीक्षणबाट बञ्चित सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको सुबिधाका लागि डडेल्धुरामा दुई साता अघि पीसीआर मेसिन स्थापना गरेको थियो ।
फाउण्डेसनले सुदूर पश्चिम समाज अमेरिका र विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिम समाज र सुदूरपश्चिमेली अगुवाहरुसंगको सहकार्यमा पीसीआर मेसिन स्थापना गरेको हो ।