म्याग्दी- म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । पहिरोमा परेकामध्ये ३ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। शुक्रबार गएको पहिरोमा परेकामध्ये मालिका गाउँपालिका–७, का ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी गाउँपालिका–६ का २२ वर्षीया मञ्जिता श्रीपाली र सोही ठाउँका ७ वर्षीय सफल श्रीपालीको घाइते अवस्थामा उद्धार गरिएको हो।
तीनै जना बोल्न सक्ने अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।तीमध्ये २२ वर्षीया मञ्जिता श्रीपाली गर्भवती रहेको र उनको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। मञ्जिता र सफललाई पोखराको मणिपाल अस्पताल रिफर गरिएको छ भने पूर्णबहादुरको बेनी अस्पतालमा उपचार भइरहेको छ।
यता, म्याग्दी पहिरोमा हराएकामध्ये १७ जनाको शव प्राप्त भएको छ। घर नै रित्याउने गरी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा परी ज्यान गुमाउनेहरुमा मालिका गाउँपालिका–७, बिमका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, विष्णु नेपाली, सन्दीप नेपाली रहेका छन्।
यसैगरी धवलागिरी गाउँपालिका–६, मराङबाट सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, सोही ठाउँका रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली,सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसी रहेका छन्।
पहिरोमा परि हराइरहेका १५ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।