धनगढी -देशभर मनशुन सकृय भएपछि कैलालीमा प्राकृतिक विपद् व्यवस्थापनका तयारी शुरु गरिएको छ । बिपतबाट हुने क्षति घटाउने उद्देश्यका साथ स्थानीय तह, जिल्ला र प्रदेशबाट तयारी शुरु गरिएको हो । जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जिल्लाको १३ वटै स्थानीय तहमा स्थानीय व्यवस्थापन समिति गठन गरि सोही अनुसार तयारी गरिएको छ । उनका अनुसार उद्दारको लागी तीन वटै सुरक्षा निकायलाई तयारी अबस्थामा राखिएको छ ।
यसैगरी, उद्धार तथा खोजमा खट्नका लागि तालिम प्राप्त जनशक्ति र डुङ्गा तयारी अवस्थामा राखेको स्थानिय प्रसाशनले जनाइएको छ । यो जिल्लाको भजनी नगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका जानकी, जोशीपुर तथा कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाको दक्षिणी भू–भाग उच्च जोखिम क्षेत्र मानिन्छ ।
चुरे क्षेत्रमा ठूलो वर्षा भएमा यी स्थानीय तहरुमा बाढी र डुवान समस्या हुने गर्दछ । जोशीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सूचना लिने÷दिने व्यवस्था मिलाइएको छ । यसैगरी, कर्णाली र मोहना नदीको पानीको सतह केन्द्रमा नै हेर्न सकिने व्यवस्था गरिएको छ ।
दुवै नदीमा पानीको सतह खतराको सङ्केतसम्म पुगेमा आफै ‘साइरन’ बज्ने गर्दछ । विपद् सम्बन्धी अन्य सूचनाहरुलाई जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्डमार्फत प्रसारण गर्ने व्यवस्था पनि मिलाइएको जोशीले बताए । पूर्व सूचना प्रणालीका लागि कैलालीको २९ ठाउँहरुमा वर्षा तथा पानीको सतह मापन केन्द्र स्थापना गरिएको छ ।
माथिल्लो अर्थात चुरे क्षेत्रमा खतराको सङ्केतभन्दा माथिसम्म वर्षा वा पानीको सतह मापन भएमा तल्लो तटीय क्षेत्र अर्थात जोखिममा रहेका ठाउँका मान्छेलाई सतर्क रहन वा सुरक्षित ठाउँमा जान पूर्व सूचना दिइने गरिएको छ ।