म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी बेपत्ता भएका २१ मध्ये ९ जनाको शव भेटिएको छ। वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो। सात जना बेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो।
मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा बेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए। नेपाली सेनाको हेलिकाेप्टरमार्फत् बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।
रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो। दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन्। मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चारजनाकाे हेलिकाेप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ। एकजना गर्भवतिसमेत छिन्।
यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन्। केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ।
देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सूर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताए। जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ। ३० किलोवाट क्षमताको मगरदाङ लघुजल विद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ।
गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ। देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ। थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए।
धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि छ परिवार विस्थापित भएका छन्। मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पुर्याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताए। मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताउनुभयो। पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको छ।
रासस