काठमाडौं - पछिल्लो चार दिन यता नेपालमा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण घट्दो क्रममा रहेको छ । डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण सुरु भएदेखि असार १९ गते उच्च संख्यामा संक्रमित देखिए ।
असार १९ गते देशभर ७४० जनालाई संक्रमण पुष्टि भएको थियो । सो दिन देशभर ४ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको थियो । असार १९ पछिका दिनहरुमा भने संक्रमितहरुको संख्या घटेका छन् । असार २० गते ४ हजार ५० जनाको पीसीआर परीक्षण हुँदा २७२ जनालाई कोरोना पुष्टि भयो।
असार २१ गते ४ हजार ७१० जनाको पीसीआर परीक्षण गर्दा २९३ जनाको रिपोर्ट पोजेटिभ आयो । असार २२ गते ४ हजार ७२१ जनाको कोरोना परीक्षण हुँदा १८० जनालाई कोरोना पुष्टि भएको छ । नेपालमा पहिलोपटक चीनको वुहानबाट आएका एक युवालाई पुस २४ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएको ६ महिनामा १५ हजार ९६४ जनालाई कोरोना पुष्टि भएको छ । जसमध्ये ९ हजार ११८ संक्रमित आइसोलेसनमा छन् । हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
निको भई डिस्चार्ज हुनेको तथ्यांक हेर्दा असार १९ गते ८२३, असार २० गते २७२, असार २१ गते १३२ र असार २२ गते २६४ जना डिस्चार्ज भए । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।
हालसम्म ६ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेका छन् । प्रदेश नम्वर २ को महोत्तरी, रौतहट, प्रदेश नम्वर ५ मा पाल्पा र सुदुरपश्चिममा अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन् । मन्त्रालयको पछिल्लो आँकडा अनुसार हालसम्म प्रदेश नम्वर २ मा सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । त्यहाँ ४ हजार १८४ जनामा संक्रमण पुष्टि भएको छ । जहाँ एक्टिभ केस २ हजार ११२ छ ।
यस्तै प्रदेश नम्वर १ मा ७१० जनामा संक्रमित रहेकोमा हाल २४१ जना आइसोलेसनमा छन् । बागमती प्रदेशमा ६३९ लाई कोरोना पुष्टि भएकोमा ४०५ एक्टिभ केस छ । गण्डकी प्रदेशमा १ हजार १७५ जनालाई पोजेटिभ देखिएकोमा ८८० जना आइसोलेसनमा छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९८४ जना संक्रमित रहेकोमा २ हजार १२७ उपचाररत छन् । कर्णाली प्रदेशमा १ हजार ५८१ जना रहेकोमा ३५९ आइसोलेसनमा छन् भने सुदुरपश्चिममा ३ हजार ६९१ जना संक्रमित रहेकोमा ३ हजार २९ एक्टिभ केस छ ।
यद्यपी देशका अन्य स्थानमा संक्रमण घटिरहेको भएपनि काठमाडौं उपत्यका भने केहीदिन देखि संक्रमितको संख्या बढिरहेको छ । आइतबार काठमाडौं उपत्यकामा ३० र सोमबार ५४ जनालाई कोरोना पुष्टि भयो । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले यसरी उपत्यकामा कोरोना संक्रमित थपिनुमा विदेशबाट आएकाहरु रहेको बताउनुभयो ।
अहिले काठमाडौं उपत्यकाका संक्रमितहरुमध्ये धेरैजसो विदेशबाट उद्धार गरी ल्याइएकाहरु छन् । केही अस्पतालमा उपचार गर्न आएका बिरामी छन् भने केहीको ट्राभल हिस्ट्री छैन उहाँले भन्नुभयो, ट्राभल हिस्ट्री नभएकालाई पनि कोरोना देखिनुले समुदायमा संक्रमण फैलियो कि भन्ने आशंका थियो, ‘संक्रमण समुदायमा फैलिएको हो कि होइन भन्ने पत्ता लगाउन धेरै केस भेटिएका १२ स्थानमा पीसीआर परीक्षण सुरु भएको छ, जसमा नख्खु, तिनकुनेका २२८ जनाको नतिजा संकलन गरी परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको छ बाँकीको रिपोर्ट आउन बाँकी छ सबैको रिपोर्ट आएपछि समुदायमा फैलिएको छ, छैन यकिन हुनेछ’, प्रवक्ता गौतमल भन्नुभयो ।
प्रवक्ता गौतमले उपत्यकामा संक्रमण बढेपनि देशका अन्य स्थानमा घटिरहेको भन्दै परीक्षणको संख्या लगभग उत्तिनै हुँदा पनि पोजेटिभ केस कम हुँदै र निको हुनेको दर बढ्दै गएको बताउनुभयो । क्वारेन्टिनमा २ लाख बढी व्यक्ति रहेका थिए । अहिले क्वारिन्टन अवधि सकेर करिव १ लाख ७० हजार घर गइसकेका छन् । हाल क्वारेन्टिनमा २९ हजार २१५ छन् । हामीले अब सबै नागरिकले नियम पालना गर्दै भीडभाड कम गरी साथ दिएमा समुदायमा संक्रमण फैलिन नदिई नियन्त्रण गर्न सक्ने अवस्थामा हामी आइपुगेका छौ गौतमले थप्नुभयो ।
नेपालमा कोरोना संक्रमित निको हुनेको दर ४२.७ प्रतिशत रहेको छ । उच्च संख्या देखिएको दिन पीसीआर परीक्षण गरिएका मध्ये १६.५१ मा कोरोना देखिएको थियो भने सोमबार १८० जनामा कोरोना देखिँदा ३.८१ प्रतिशतको रिपोर्ट पोजटिभ आएको देखिन्छ । हेल्थपाटीवाट