धनगढी -बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । जसका कारण जनजिबन प्रभाबित भएको छ । ठाउँ ठाउँमा देशभरका राजमार्ग अबरुद्ध भएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् ।
जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् । सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।
जाजरकोटको बारेकोट र जुनिचाँदे गाउँपालिकामा गएको पहिरोमा परी सातजनाको मृत्यु भएको छ भने आठ बेपत्ता छन् ।
यसै बिच बाढीपहिरोबाट विस्थापितको उद्धारका लागि सेनाले देशका पाँच ठाउँमा १२ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । प्रदेश १ र २ का लागि पूर्वी पृतना इटहरी, मध्यक्षेत्रको उद्धारका लागि चितवनको भरतपुर, काठमाडौं र आसपासका क्षेत्रको उद्धारका लागि एयर बेस काठमाडौं, गण्डकी प्रदेशका लागि पोखरा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका लागि पश्चिम पृतना एयर बेस सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।
उनका अनुसार तीनवटा एमआई–१७ र बाँकी लाइट हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएका हुन् । ‘विपत्मा उद्धारका लागि हेलिकोप्टर प्रभावकारी साधन प्रमाणित भएको छ । त्यसैले यसपटक हामीले विभिन्न साइजका १२ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेका छौँ । विपत्का वेला जुनसुकै स्थानमा हेलिकोप्टर प्रयोग हुन सक्नेछन्,’ प्रवक्ता पाण्डेले भने ।
त्यस्तै, विपत्पछिको उद्धारका लागि गुल्म रहेका प्रत्येक जिल्लामा कम्तीमा सय सैनिकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताए । अनाश्रित गुल्म भएको जिल्लाको हकमा ३० सैनिकलाई तयारी अवस्थामा रहन भनिएको छ ।
मुख्य सडक सुरक्षाका लागि पनि सेनाले विशेष सैनिक दस्ता खटाएको छ । पहिरो तथा बाढीबाट हुन सक्ने अवरोध हटाउन एक्स्काभेटर, डोजर तथा एक्रोब्रिज, रिभाई बोटको व्यवस्था गरेको छ । डुबानमा परेकाहरूको उद्धारका लागि विभिन्न खालका एक सय १९ वटा बोट मातहतका निकायमा पठाइएको सेनाले जनाएको छ ।
सुदूरपश्चिममा पूर्व तयारी हतारमा
सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । कैलाली र कञ्चनपुरमा वर्षायाममा अत्यधिक डुबान हुने गरेको छ । लगातार वर्षा हुने मौसम विभागको अनुमान रहेकाले डुबान हुने क्षेत्रमा प्रशासनले पनि आवश्यक सतर्कता अपनाएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । ‘स्थानीय बासिन्दालाई सतर्क रहेर बस्न भनेका छौँ ।
बाढी र डुबान भएको अवस्थामा उद्धारमा खटिनका लागि स्थानीय स्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी युनिटहरू तयारी अवस्थामा छन्,’ प्रजिअ बोहराले भने । त्यस्तै, नदी, खोलाहरूमा जलस्तर मापन गरेर बाढीको सतह बढेमा समुदायलाई सतर्क गराउने सूचना प्रणालीलाई पनि सक्रिय पारिएको उनले बताए ।कञ्चनपुरमा पनि डुबान प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सचेत गराइएको छ ।
पहाडी क्षेत्रमा पनि जोखिमपूर्ण बस्तीका बासिन्दालाई सतर्क गराइएको सरकारी अधिकारीहरुले बताएका छन् ।गत साता बाढी, पहिरोमा पुरिएर बझाङमा सातजनाको मृत्यु भएको थियो ।
अन्य जिल्लामा यस वर्ष बाढी, पहिरोको विपत्ले अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । सबै जिल्लामा प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको उनले बताए ।