काठमाण्डौ- बिगत केही दिन देखीको बर्षाको कारण देशभर बाढी पहिरोमा परी ज्यान गुमाउने को संख्या बढदै गएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशको म्याग्दी, कास्की र लमजुङमा १२ जनाको ज्यान गएको छ ।
पहिरोमा परेर ६ जना बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार पोखरा महानगरपालिकाकाे चार ठाउँमा पहिरो जाँदा सातजनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका- १८ को गोठादीमा रहेकाे टंकबहादुर थापाको घरमाथिबाट गएराति आएको पहिरोमा परेर पाँचजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन् ।
यस्तै लगातार परेको अविरल वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा दुईजनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् । धवलागिरि गाउँपालिका-६ मराङको रिखामा ६ जना बेपत्ता भएका छन् । घन्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका ६ जना बेपत्ता भएकाे मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता
जाजरकोटको बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गएराति पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा ५२ वर्षीय गोपाल सार्की, उनकी ५० वर्षीया श्रीमती पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की, ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन् ।अर्को घरका कालु सार्की, उनकी ११ वर्षीया छोरी कमला सार्की, ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट गाउँपालिका– ४ का सचिव गोविन्द पुनले जानकारी दिए । बेपत्ताहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ । देशभर बाढी पहिरोमा परी ज्यान गुमाउने को संख्या साँझ सम्म बढन सक्ने प्रहरीको भनाई छ ।