काठमाण्डौ - डोटी देखि काठमाडौंसम्म ट्याक्सीमा यात्रु बोकेर आएका चालक कारबाहीमा परेका छन्। महानगरीय प्रहरी वृत्त थानकोटले डोटीबाट तीन जना यात्रु बोकेर काठमाडौं आएका धुलिखेल नगरपालिका १ का ३० वर्षीय शंखमान तामाङलाई चेकिङ गर्दा गत शनिबार नागढुंगाबाट पक्राउ गरेको थियो।
उनी बिना पास यात्रु बोकेर काठमाडौं आएका थिए। उनीमाथि प्रहरीले संक्रमण रोग ऐन अन्तर्गत कारबाहीको लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो।
’उनले तीन जनाबाट ३० हजार पाउने भन्ने सर्तमा काठमाडौंसम्म ल्याइदिएका रहेछन्,’ वृत्तका डिएसपी घनश्याम श्रेष्ठले भने,’काठमाडौं आएपछि रकम दिने भन्ने कुरा भएको थियो तर कारबाहीमा परे।’
उनका अनुसार ती व्यक्तिलाई संक्रमण रोग ऐन अन्तर्गत कारबाही गरिएको हो। ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना सजाय हुने उल्लेख छ।
त्यस्तै, उनीसँगै आएका यात्रुहरूलाई पनि स्थानीय तहसँग समन्वय गरी होल्डिङ सेन्टरमा राखिएको उनले बताए।कसैको काम, कसैको कोठा यता भएर आएको देखिन्छ।
सवारी पास नहुँदा कारबाहीमा परे,’उनले भने,’यात्रुहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ।’ त्यस्तै, बिना पास काठमाडौं भित्रिने अन्य सवारीसाधन पनि कारबाहीमा परेका छन्। शनिबार बर्दियाबाट काठमाडौं आएका बढैया गाउँपालिका ५ का २९ वर्षीय सञ्जय विकमाथि पनि संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गरिएको छ।
उनले भे १ ज ११३५ नम्बरको गाडीमा १७ जना यात्रु बोकी काठमाडौं आएका थिए। उनीबाट प्रहरीले यात्रुसँग असुली गरिसकेको २५ हजार रकम पनि बरामद गरेको छ। यसअघि पनि विभिन्न मितिमा सात वटा सवारी साधनलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाएको वृत्तले जनाएको छ। सेतो पाटी