अछाम- जिल्लामा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकाको शिक्षा, कृषि शाखाका एक जना र एकजना टिप्पर ड्राइभरलाई कोरोना देखिएको हो । नगरपालिकाकाले तीनै जनालाई आइसोलेसनमा राखेको छ । यसअघि कोरोना पुष्टि भएका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष, एक स्वास्थ्यकर्मी र पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मी आइसोलेसन कक्ष मै छन् ।
मङ्गलसेन नगरपालिकाका नौ जना, पञ्चदेवल विनायक नगरपालिकाका ८ जना र साँफेबगर नगरपालिकामा १ जना थपिएपछि अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको हो ।
स्वाब परीक्षणका क्रममा साँफेबगर नगरपालिकामा १५० जना, रामारोशन गाउँपालिकामा १०४, मेल्लेख गाउँपालिकामा १०१ जना, मङ्गलसेन नगरपालिका ६८ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् ।
यस्तै चौरपाटी गाउँपालिकामा ५० जना, ढकारी गाउँपालिका २८ जना, कमलबजार २५ जना, तुर्माखाँद गाउँपालिका २३ जना कोरोना सङ्क्रमित फेला परेको कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए । थ्रोट स्वाब सङ्कलन गरेर पठाइएकोमा केही नमुनाको पीसीआर परीक्षण हुन बाँकी रहेको बताइएको छ ।