काठमाण्डौ - प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो ।थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए ।
नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।महानिरीक्षक ज्ञवाली गएको माघ २८ गते आईजीपीमा बढुवा भएका थिए । ज्ञवालीको कार्यकाल कोरोना संक्रमण विरुद्धको प्रतिकार्य योजनामा खटिँदै गर्दा सकिएको हो । ज्ञवालीले आफ्नो कार्यकालमा खासै उपलब्धिपूर्ण काम नगरे पनि विवादास्पद निर्णय पनि उनको पालामा भएनन् ।
नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् ।
डीआईजीमा बढुवा भएपछि महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका थापा त्यसपछि पुन महानिरीक्षकको सचिवालय र प्रहरी प्रवक्ता बनेका थिए । एआईजीमा बढुवापछि भने उनी मानवस्रोत तथा प्रशासन विभागमा सरुवा भए ।
यस्तो छ थापाको विगत..
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री प्रहरीभित्र व्यवसायिक र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । २०२५ मंसिर २ गते भक्तपुरको कटुञ्जेमा जन्मिएका उनले २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
उनी परिवारमा कान्छो छोरा हुन् । पारिवारिक पृष्ठभूमि नै प्रहरी भएका कारण उनको रोजाइ पनि स्वभाविक रुपमा प्रहरी मै प¥यो । थापाका बुवा शम्भु थापा नेपाल प्रहरीबाटै डीआईजीमा अवकाश प्राप्त अधिकृत हुन् । उनका श्रीमति र एकछोरी छन् । २०५८ फागुन १० गते डीएसपी, २०६७ पुस २० गते एसपी, २०७४ साउन १९ गते एसएसपी, २०७५ असोज २८ गते डीआईजी र २०७६ चैत ९ गते एआइजीमा बढुवा भएका थापा सेवाअवधिमा लामो समयसम्म उपत्यकाभित्रै कार्यरत रहे ।
कतिपयले उनलाई ‘हाकिम रिझाएर काम गर्ने अधिकृत’का रुपमा पनि टिप्पणी गर्छन् । हुनपनि उनको यही स्वभावले सेवाअवधिको २८ वर्षमा ५ पटक प्रहरी महानिरीक्षककै सचिवालयमा रहेर काम गरे । जिल्ला प्रहरी कार्यालय कास्की, झापा, सल्यान र धादिङबाहेक उनले बाहिरी जिल्लामा बस्नु परेन । ४ जना महानिरीक्षकसग ५ पटक सचिवालयमा बसेका थापा फिल्ड कमाण्डमा कम अनुभव रहेको उनीसगै सेवा प्रवेश गरेका अरु अधिकृतहरुको बुझाइ छ ।
यी हुन् आगामी चुनौती..
प्रहरी महानिरीक्षक बनेका थापाका लागि भने आगामी दिन निकै चुनौतीपूर्ण छन् । २०७७ असार २५ देखि २०७९ वैशाख १९ सम्मको करिब २ वर्षे कार्यकाल रहेकोमा केहीमहिना भित्रै हुने संघीय संरचना अनुसार संघ र प्रदेशमा जनशक्ति समायोजन व्यवस्थापन गर्नुपर्ने प्रमुख चुनौती छ ।
एकात्मक प्रहरी संरचना कानुन अनुसार संघीय संरचनामा रुपान्तरण भएपछिको चुनौती सामना गर्न उनका लागि निकै कठिन हुने छ । समायोजन गर्दा उत्पन्न हुनसक्ने असन्तुष्टि र संघ–प्रदेश संयन्त्रबीच प्रभावकारी समन्वय गरेर अघि बढ्नु उनका लागि अर्को चुनौती हो ।
सरुवा–बढुवामा देखिएको भनसुन र चाकरी प्रथाका कारण प्रहरीको व्यवसायिक चरित्रमाथि नै प्रश्न उठ्ने गरेको छ । संघ र प्रदेशमा प्रहरी कर्मचारी समायोजन गर्दा बढ्न सक्ने असन्तुष्टि र त्यसपछि सम्भावित राजीनामाको लहर रोक्ने चुनौती नयाँ महानिरीक्षक सामु छ । त्यतिमात्र होइन, संघीय प्रहरी सेवा ऐन समेत आएको छैन । ऐन नआउँदै जनशक्ति समायोजनमा गृह मन्त्रालयले गरेको हतारो, राजधानीको सुरक्षा र नेतृत्व प्रदेश कि संघीय सरकार मातहत राख्ने भन्ने विवाद, विशिष्ट प्रकृतिका कार्यालय सातवटै प्रदेश प्रहरी कार्यालयमा विस्तार गरेर त्यसलाई कानुनी हैसियतमै राख्नुपर्ने चुनौती पनि उत्तिकै छ ।
प्रहरीमाथि राजनीतिकरण, पेशागत मर्यादामाथि नै असर पुग्ने गरी हुने शक्तिकेन्द्रका अस्वभाविक चलखेल नियन्त्रण, पारदर्शी सरुवारबढुवामा जोड दिनुपर्ने चुनौती पनि नयाँ आईजीपी सामु देखिएको छ । प्रहरी ऐन र नियमावलीमै एसपी सम्मको सरुवा–बढुवा र खटनपटनमा प्रहरी महानिरीक्षक निर्णयक मानिन्छन् । तर सिपाही सरुवारबढुवामा समेत प्रधानमन्त्री, मन्त्री, सचिव, अन्य राजनीतिक दललगायत शक्तिकेन्द्रको चलखेल र दबाब हुँदा प्रहरीमा व्यवसायिक चरित्रमा दिनप्रतिदिन हृास आइरहेको छ ।
कतिपय अधिकृतहरु नै भ्रष्टाचार र अन्य जघन्य अपराधमा संलग्न हुने गरेका तथ्य सतहमै आइरहेका छन् । यसलाई समेत नियन्त्रण गरेर प्रहरीको समग्र व्यवसायिक चरित्रको विकास र नागरिकमैत्री सेवा प्रवाह आगामी दिनमा नवनियुक्त आईजीपी थापाका मुख्य चुनौती हुन् । कान्तिपुरवाट